• बैशाख १६ २०८२, मंगलवार

गोल ब्रीफिङ : नेपाली स्याटेलाइटको सफल प्रक्षेपण, खोप केन्द्र नै कोरोना हटस्पट र चुनाव गराउन आयोगलाई हतारो

पुष ३० २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम र त्यसले पारेको प्रभावको बारेमा गोल ब्रीफिङ गरिन्छ । यसका साथै सामाजिक, आर्थिक, कुटनीतिक, भ्रष्टाचार न्यूनीकरण, सुशासन र वैचारिक बहसलगायतका थुप्रै पक्ष पनि ब्रीफिङमा समेटिन्छन् । विशेष गरि दिनभरीका घटना परिघटनाको चियोचर्चा नै गोल ब्रीफिङका अर्थपूर्ण सामाग्री हुन् ।

नेपाली स्याटेलाइटको सफल प्रक्षेपण :

नेपालमै निमार्ण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट—१’ को सफल प्रक्षेपण भएको छ । हिजो (बिहीबार) राति नेपाली समयअनुसार करिब ९ बजेर १० मिनेट जाँदा उक्त स्याटेलाइटको सफल प्रक्षेपण भएको हो । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार राति अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको बताइएको छ ।

हिजो राति प्रक्षेपण गरिएको स्पेस एक्सको फाल्कोन–९ रकेट । यही रकेट मार्फत ‘सानो स्याट–१’ अन्तरिक्षमा पुर्याइएको थियो । स्याटेलाइटलाई एक्जोपोर्ट–६ डिप्लोयरले अन्तिरक्षमा छाडेको हो । प्रक्षेपण भएको १ घण्टा ५ मिनेटपछि एक्जोपोर्ट—६ डिप्लोयरले सानोस्याट—१ लाई अन्तरिक्षमा छाडेको थियो । सानोस्याट—१ सँगै अमेरिकास्थित मिनि क्युब स्पेस डेभ्लोपमेन्टले बनाएको च्यालेन्जर स्याटेलाइट पनि प्रक्षेपण भएको थियो ।

यो स्याटेलाइटमा नेपालको राष्ट्रिय झन्डा अंकित छ । यस्तै, दुई स्याटेलाइट निर्माणमा विभिन्न समयमा संलग्न भएका दुई दर्जन बढीको नाम पनि अंकित छ । यो स्याटेलाइट निर्माणमा सबैभन्दा बढी इन्जिनियरद्वय सौरभ पौडेल र जितेन थापा खटिएको उनले बताए । यो स्याटेलाइटलाई अन्तरिक्षसम्म पुर्याउन ओरियन स्पेसको ४० लाख रुपैयाँ खर्च गरेको छ ।

खोप केन्द्रबाटै कोरोना संक्रमण :

कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । त्यसका लागि हरेक मानिसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न भनिएको छ ।

जसका लागि सम्बन्धित पक्षले भिडभाड नगर्न र भौतिक दूरी कायम गर्न बारम्बार आग्रह गर्दै आएको छ । तथापि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा केही दिनयता जनस्वास्थ्यका यी मापदण्डको पालना गरिएको देखिँदैन । अस्पतालमा भीड नियन्त्रणका लागि अहिलेसम्म अस्पताल र स्थानीय प्रशासनले कुनै उपाय अबलम्बन गरेको छैन ।

सरकारले यात्रा गर्न वा सार्वजनिक सेवा लिनका लागि हरेक नागरिकसँग अनिवार्य कोरोना खोपकार्ड हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैले खोप केन्द्रहरूमा सर्वसाधारणको भीड बाक्लो हुने गरेको छ । खोप कार्ड नहुँदा सार्वजनिक सेवा लिनबाट बञ्चित हुने भयले खोप लगाउनेहरूको भीड बढेको छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले खोप केन्द्रमा मानिसहरूको बाक्लो भीडका कारण कोरोना संक्रमणको जोखिम बढेको बताउँछन् । खोप केन्द्रमा बढ्दो भीड नै कोरोना संक्रमणको हटस्पट हुने सम्भावना रहेको उनको तर्क छ ।

चुनाव गराउन आयोगलाई हतारो :

निर्वाचन आयोगले आज (शुक्रबार) दलहरूसँग छलफल गरेको छ । आयोगले तीन विषयमा केन्द्रित भएर दलहरूसँग छलफल गरेको हो । छलफलमा संघीय संसद्देखि स्थानीय तहसम्म प्रतिनिधित्व गर्ने दलहरु उपस्थित भएका थिए ।

आयोगले राष्ट्रिय सभाको निर्वाचन, मतदाता नामावली संकलन। र स्थानीय तह निर्वाचनबारे छलफल गरेको थियो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा भइसक्ने बताए ।

आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए २०७९ बैशाख १४ र दुई चरणमा गर्ने भए बैशाख १४ र २२ मा गर्न प्रस्ताव गरेको छ । तर, आयोगले आफूहरुलाई उपलब्ध हुनुपर्ने १२० दिन घर्किँदै गरेकाले कठिनाइ हुने बताइएको छ ।

आयोगले पहिलो पटक निर्वाचन भएको २०७४ वैशाख ३१ कै मितिलाई आधार मानेर पाँच वर्ष गणना हुने पनि प्रष्ट पारेको छ । त्यतिबेला २०७४ असार र असोजमा क्रमशः दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका थिए । आयोगको उक्त प्रस्तावमाथि दलहरूले ठोस धारणा राख्न भने सकेनन् ।