काठमाडौं । काठमाडौंमा रहेको सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ वर्षे स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहार बीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा सो शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको हो । सेमेस्टर प्रणाली अनुसार नेपालमै पहिलो पटक आगामी २०७८ माघ १५ गतेदेखि सञ्चालन हुन गइरहेको स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास शैक्षिक कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अभिभावकहरुलाई अनुरोध गरेको छ ।
कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग रहेको यस क्याम्पसमा कुनै पनि विषयमा स्नातक तह उतीर्ण भएका विद्यार्थीले विश्वविद्यालयको वेबसाइट https://apply.lbu.edu.np/programs/apply मा उल्लेख भए अनुसार आवेदन गर्न सकिनेछ । यसका लागि क्याम्पसको मुख्य कार्यालयमा पनि सम्पर्क राखी आवेदन दिन सकिनेछ ।
अहिलेको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा विश्वविद्यालय स्तरको उच्च शिक्षा अध्ययन र अनुसन्धानका लागि बढी माग भई आएको र विश्वको एक मात्र साझा एजेन्डा दिगो विकासको लक्ष्यमा पुग्न सहयोग हुने ज्ञान र विज्ञानको संयोजन भएको यो विषय योग्य र अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराइने छ ।
सुलक्षण कीर्ति क्याम्पसका सहायक क्याम्पस प्रमुख दामोदर त्रिपाठीले पढाइका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण तथा आशिंक छात्रवृत्तिको व्यवस्था गरिएको पनि जानकारी दिए ।
प्राध्यापक त्रिपाठीले यस विषयको अध्ययन पश्चात् विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरूमा विकास विज्ञ एवम् नीति निर्माताका रुपमा अवसर प्राप्त हुने भएकाले यथाशिघ्र आवेदन दिन विद्यार्थीहरुलाई अनुरोध पनि गरेका छन् । कक्षा साँझ चार बजेदेखि सात बजेसम्म सञ्चालन हुने छन् ।