• असार २३ २०८१, शनिबार

सिमेन्ट उद्योगले खेती गरेर खान नसकिने बनायो, रातको निद्रा र दिनको सन्तुष्टी खोस्यो

पुष ३० २०७८, शुक्रबार

दाङ ३०, पुस ।
घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ र ध्वनी प्रदूषण नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान नदिँदा अहिले पनि स्थानीयबासी सास्ती भोग्न बाध्य भएका छन् । घोराही उपमहानगरपालिका–४ मा रहेको सिमेन्टको धुलो, धुवाँ र ध्वनीले आजित भएपछि स्थानीयबासीले ‘उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति’ नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आएपनि समस्या समाधान हुन सकेको छैन ।

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरका स्थानीयवासी पोष्टबहादुर डाँगीले उद्योगकै कारण अब खेतीपाती गरेर खान नसकिने अवस्था आएको दुखेसो पोखे । “बारीमा तरकारी रोपे पनि खान मिल्दैन, तरकारीको पातभरि सिमेन्टको धुलो जमेको हुन्छ, पहिले गाउँमा कति धेरै फलफूलहरु उत्पादन हुन्थ्यो तर अब सबै फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैन” उनले भने ।

उद्योग नजिकका स्थानीयबासी एवम् वातावरण सरोकार समिति अध्यक्ष भरतराज देवकोटोले उद्योग चौबिसै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुवाँ निकाल्ने हुँदा आफूहरुलाई निदाउनै मुस्किल भएको बताए । “हामीले उद्योगलाई बारम्बार राति ६ घण्टा मात्रै भए पनि ध्वनी रोक्नुस् भनेका हौं तर, हामीले भन्ने उसले सुन्ने बाहेक केही हुन सकेन, उद्योगबाट निस्कने धुवाँ बढेको हुँदा बाँच्नै मुस्किल परेको छ” उनले भने ।

स्थापनाकालमा एक हजार दुई सय मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक चार हजार मेट्रिक टन उत्पादन गर्न थालेको छ । उद्योग नजिकै रहेको श्रीमावि डाडाँगाउँका विद्यार्थीहरुले पनि आफूहरुमा सिमेन्ट उद्योगबाट निस्कने धुलोका कारण विभिन्न खालमा समस्या आउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उद्योग स्थापनापछि विद्यार्थीका शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने जस्ता समस्या देखिएको उनीहरुको अनुभव छ । उद्योगको छेउमै रहेको स्वास्थ्य चौकीमा यसखालका बिरामी धेरै आउने गरेको स्वास्थ्यकर्मीको भनाई छ । अहिले दैनिक जसो ८–१० जना स्थानीयहरु स्वासप्रस्वास सम्बन्धि समस्या लिएर उपचारका लागि आउने गरेको स्वास्थ्य चौकी डाँडागाउँ गोग्लीले जनाएको छ ।

सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुवाँ, धुलो र ध्वनी प्रदुषणका कारण गोग्ली, सुनपुर, लक्ष्मीपुर, बर्गदवा, बेलभार लगायतका गाउँका नागरिकहरुले स्वस्थ्य सास समेत फेर्न पाउन छाडेका स्थानीय मुना भण्डारीले बताइन् । “अहिले पानीका मुहानहरु प्नि सुक्दै गएका छन् भने कृषि उत्पादनमा ह्रास आइरहेको छ, वर्षामा पानी हुने भएपनि हिउँद लागेसँगै पानीका श्रोत सबै सुक्दै गएका छन्” उनले भनिन् ।

स्थानीय दिलबहादुर घर्ती उद्योगभित्र ठूलो क्षमताका पाँचवटा डिप बोरिङ राखिएकाले आफ्नो बस्तीहरुमा पानीका मुहानहरु सुक्न थालिसकेको बताए । कैयौँ वर्षदेखि नसुकेका कुवाहरुमा सुक्न थालेका उनको भनाई छ । यस्तै घोराही–४ कै मनि डाँगीले रातको निद्रा र दिनको सन्तुष्टि उद्योगको प्रदुषणले खोसेको बताए ।

“हामीले कपडा धोएर सुकायौं भने कपडामा सिमेन्टले धुलो लागेर लगाउन सक्ने अवस्था हुँदैन, स्वस्थ्यकर स्वास फेर्न पनि नपाउने भयौं” उनले भने । यस्तै मनोज सुवेदीले दुना टपरी खुट्न जंगलबाट ल्याएको पातसमेत सिमेन्टको धुलोले प्रयोग गर्न मिल्ने अवस्थाका नरहेको बताए । सिमेन्ट उद्योगले प्रभाव पार्ने क्षेत्रमा हाल करिव चार हजार पाँच सय परिवार बस्दै आएका छन् । क्षणिक आर्थिक लाभ लिने नाममा सरकारले स्थानीय जनतालाई रोगको सिकार बनाएको उनीहरुको तर्क छ । “सिमेन्ट उद्योगले कोही कसैलाई सिमित फाईदा भयो होला तर, यसले जनतालाई भने धेरै नोक्सान गरेको छ” स्थानीय टेकबहादुर थापाले भने ।

संविधानले दिएको हक व्यवहारिक कार्यान्वयन त परै जाओस् नागरिकको आधारभूत स्वास्थ्यमा पनि ध्यान नदिइएको भन्दै तीनै तहका सरकारप्रति स्थानीयले आक्रोश पोख्ने गर्दछन् । स्थानीयहरुले सिमेन्ट उद्योगले आफूहरुलाई उठीबास लगाउने अवस्थामा पुर्याएको बताए । सिमेन्ट उद्योगको जनप्रशासन शाखाले भने सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही सञ्चालनमा रहेको बताउँदै आएको छ ।

उद्योगले स्थानीय नागरिकलाई क्षमता र सीपका आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व वहन गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनमा सजग रही वृक्षारोपण लगायत प्रदूषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग सञ्चालन भइरहेको बताएको छ । उद्योगमा जडित उपकरण र त्यस वरपरको वातावरण मापदण्डभित्र रही उद्योगलाई हरित बनाउने काम भएकाले उद्योग शतप्रतिशत ठीक ढङ्गले सञ्चालन भइरहेको उद्योगको दावी छ ।