काठमाडौं । विश्वमा मानिसको अपेक्षित आयु ८० वर्षको रहेको छ । तर हरेक देशमा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक तथा स्वास्थ्य सुविधाको आधारमा मानिसको आयु तलमाथि रहेको छ । विश्वमा अहिले सरदर ४५ वर्षदेखि ६५ वर्षसम्मको औसत आयु मानिएको छ ।
तर जापानमा ८४ वर्षसम्मको आयुलाई सामान्य आयुका रुपमा लिन थालिएको छ । नेपालमा ८४ वर्षको आयुलाई दीर्घायु मानिन्छ । यसलाई उमेर अवधिको उच्चतम चुचुरोका रुपमा दिइन्छ । त्यसैले ८४ वर्ष लाग्ने बित्तिकै ‘८४ पुजा’ गरिन्छ ।
नेपालमा मानिसको बाँच्ने उमेरको बिस्तार कति भएको छ, त्यो त खोजीको विषय नै छ । अहिले सम्म विदेशीले दिने गरेको आँकडा अनुपात र अनुमान नै नेपालका लागि मुख्य स्रोत हुने गरेको छ । नेपाल आफैले यसका खोजी र तथ्यांक विकास गरेको देखिदैन ।
तर केही वर्ष अघिसम्म बिबाह गर्न योग्य उमेर १६ र १७ वर्षको मानिदै आएको थियो । ‘१६ वर्षे उमेरैमा म पनि झिल्के हुँदो हुँ, अहिले पो बूढो भएर …’ भन्ने गीत प्रचलित नै छ । त्यो उमेर अहिले कानुनतः महिलाका लागि २१ र पुरुषका लागि २२ वर्ष तोकिएको छ ।
यसका आधारमा नेपालीको अपेक्षित जीवन ८० देखि ८५ वर्षको अनुमान गर्न सकिन्छ । पहिलेको जस्तो ‘भाले बासे कति सुत्ने, ६० पुगे कति बाँच्ने’ भन्ने अवस्था अबका दिनमा रहेन ।
पछिल्लो समयमा विश्वभर खाद्य तथा औषधिको पहुँच, अन्य सेवा सुविधा, मनोरञ्जनमा पहुँच, आवश्यक कुराहरुको जानकारी, वैयक्तिक आत्मनिर्भरता, ज्ञानको बिस्तार, आशावादितामा बृद्धि, वैदेशिक भए पनि रोजगारीमा बृद्धि आदिका कारण नेपालीको अपेक्षित जीवनमा बृद्धि हुन गएको देखिन्छ ।
त्यसो त वैज्ञानिकले गरेका खोज तथा अनुसन्धानमा मानिसको आयु कसरी बढाउन र स्वस्थ राख्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गरिएको देखिन्छ । यसका लागि नयाँ–नयाँ खोज, अनुसन्धान तथा प्रयोग हुँदै आएका पनि छन् । वैज्ञानिक खोजलाई आधार मानेर यो शताब्दीको अन्त्यसम्म विश्वका मानिसको अपेक्षित आयु १८० वर्ष हुनसक्ने अनुमान गरिएको छ ।
हाल मानिसको अपेक्षित ८० वर्षको आयु एक शातब्दीमा १३० वर्ष हुनसक्ने वैज्ञानिकको दाबी छ । वैज्ञानिकहरुका अनुसार अहिलेसम्म रेकर्ड भएको सबैभन्दा बढी उमेरको हद अबका केही वर्षभित्रै तोडिने संभावना बढेर गएको छ । यसैका आधारमा मानिसको आयु अबका दिनमा १८० वर्षको हुन सक्ने अनुमान गरिएको छ ।
मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलका अनुसार हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहन सफल फ्रान्सकी जिन कालमेन्ट (१२२ वर्ष, १९९७ मा मृत्यु) को रेकर्ड अबका दिनमा ‘ब्रेक’ हुने छ ।
वैज्ञानिकहरुले मानिसको उमेर अबधि बिस्तारभएसँगै आउन सक्ने समस्याहरुका बारेमा पनि अध्ययन र अनुसन्धान गरिरहेका छन् । धेरै उमेरसम्म जीवित रहेमा शरीरका केही अङ्गहरुले काम गर्न छाड्ने र उनीहरुको व्यक्तिगत हेरचाहका लागि नर्सहरुको समेत आवश्यकता पर्ने कुराहरुलाई ‘साइड इफेक्ट’का रुपमा लिइएको छ ।
(एजेन्सीको सहयोगमा पुनर्लेखन)