• बैशाख १६ २०८२, मंगलवार

गोल ब्रीफिङ : अस्पतालमा कोरोना संक्रमितको चाप, लकडाउन नहुने र नौ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

पुष २९ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम र त्यसले पारेको प्रभावको बारेमा गोल ब्रीफिङ गरिन्छ । यसका साथै सामाजिक, आर्थिक, कुटनीतिक, भ्रष्टाचार न्यूनीकरण, सुशासन र वैचारिक बहसलगायतका थुप्रै पक्ष पनि ब्रीफिङमा समेटिन्छन् । विशेष गरि दिनभरीका घटना परिघटनाको चियोचर्चा नै गोल ब्रीफिङका अर्थपूर्ण सामाग्री हुन् ।

अस्पतालमा कोरोना संक्रमितको चाप :

पछिल्लो केही दिनयता काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । विशेष गरि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमण फैलिएको छ । संक्रमण फैलिएसँगै काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखिएको छ ।

पाँच सयभन्दा बढी संक्रिय संक्रमित भएको जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेड जोनमा राख्ने गरेको छ । उपत्यका रेड जोनमा परेसँगै काठमाडौंमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, नेपाल एपीएफलगायत थुप्रै अस्पतालमा संक्रमितको चाप बढ्न थालेको छ । अस्पतालमा संक्रमित विरामीको चाप बढे पनि गम्भीर बिरामी छैनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रका अनुसार, ‘कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जनस्वास्थ्य सतर्कताका मापदण्ड पालना गर्न र गराउन आवश्यक छ । भौतिक दूरी कायम गर्ने, मास्कको समूचित प्रयोग गर्ने र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनैपर्छ ।’

लकडाउन नहुने :

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गरिए पनि कडा लकडाउन नहुने भएको छ । बिहीबार एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनावश्यक कडा लकडाउन नगर्ने बताए । यदि गर्ने परे पनि ठाउँ र अवस्था हेरेर गर्ने बताएका छन् ।

अनावश्यक लकडाउन गर्दा देशका आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रभाव पर्ने भएकोले अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडा भने, ‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेको छ, त्यसैले अहिले नै कडा लकडाउन गरिहाल्नु पर्ने अवस्था छैन ।’

मन्त्री खतिवडाले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गर्न आग्रह गरे । त्यस्तै कोरोना संक्रमणको तेस्रो लहर फैलिन सक्ने भन्दै भएकाले सतर्क रहनसमेत आग्रह गरेका छन् । उनले खोप नछुटाई लगाउन भनेका छन् । यद्यपि उनका अनसार तत्काल लकडाउन हुने अवस्था छैन ।

नौ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक :

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले नौ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएकोले भ्रमणमा नजान आग्रह गरेको छ ।

ओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङबाट नेपाल आउने जोकोही नागरिकलाई रोक लगाएको अध्यागमन विभागले जनाएको छ । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने नागरिकलाई १६ मंसिरदेखि रोक लगाइसकेको छ । यो निर्णय अहिले पनि यथावत् छ ।