• मंसिर २० २०८१, बिहीबार

एक हातले सिंगान पुछ्दै ‘लालसलाम’ भन्थें

पुष २९ २०७८, बिहीबार

सुर्खेत । नेपालमा ०५२ सालदेखि २०६२ सालसम्म माओवादी पार्टीको नेतृत्वमा सशस्त्र जनयुद्ध चल्यो । तत्कालिन विद्रोही पार्टी नेकपा माओवादीले जनयुद्ध गर्नुको उद्देश्य नेपालमा जनगणतान्त्रिक राज्य व्यवस्था स्थापना गर्ने भन्ने थियो ।

तर युद्ध चल्दै गर्दा ७ संसदीय पार्टीहरु सितको सम्झौताका कारण देश संघीयता, संसदीय संविधान र लोकतान्त्रिक गणतन्त्रमा सहमति बन्न गयो । फलस्वरुप आजको व्यवस्था स्थापना हुन गयो ।

जनयुद्धमा युवादेखि केटाकेटीसम्म कुनै न कुनै रुपमा सहभागी भए वा होमिए । त्यस बेलाको जनयुद्धको झल्को स्मरण गर्नेमध्ये कालिकोटका एक बालक प्रेमप्रकाश चौलागाईं पनि एक हुन् ।

सरकार र माआोवादीबीच चलेको युद्धले धेरैका घरबार उजाड बनायो । कैयौं चेलीका सिउँदो पुछिए । कैयौं आमाका कोख खाली भए । तर यति बलिदानी भएपनि जनयुद्धले नेपालीलाई धेरै कुरा सिकायो र चेतनामा बृद्धि ल्यायो । बालकैमा जनयुद्ध यस्तो थियो भनेर थाहा पाएका ती बालक अहिले परिपक्व युवा भएका छन् ।

छ वर्षको कलिलै उमेरमा उनले माओवादी के हो ? भन्ने बुझ्ने मौका पाएका थिए । जनयुद्धताका बेला भएका साँच्चिकैका घटनाहरु अहिले उनलाई कथा जस्तै झल्झल्ती याद आउँछन् । त्यतिबेला माओवादीले गाउँका केटाकेटीलाई गाउँमा जम्मा गरेर जनयुद्ध सम्बन्धी कक्षाहरु दिने चलाउने गर्थे । माओवादीले दिएको प्रशिक्षणले गाउँका केटाकेटीले टाठाबाठा र चेतनशील हुँदै गएका थिए ।

जनयुद्धको त्यो झल्को :

सशक्तरुपमा माओवादीको जनयुद्ध चलेका बेला प्रेम ६ वर्षका थिए । ‘माओवादी आन्दोलन चर्केका बेला म ६ वर्षको थिएँ,’उनले भने, ‘त्यतिबेलाका घटनाहरु आँखामा झल्झली लाग्छन् ।’

माओवादी जनयुद्ध सुरु भएको २०५२ सालमा नै प्रेमको जन्म भएको थियो । जनयुद्ध चर्केकै बेला उनले धर्तीमा पाइला टेकेको उनी बताउँछन् । जब जनयुद्ध दिन प्रतिदिन सशक्त हुँदै थियो । प्रेम पनि दिन प्रतिदिन बढ्दै थिए । उनी २०५७ सालमा ६ वर्ष पुगिसकेका थिए । त्यो बेलाका सबै कुराहरु अहिले स्मरण गर्दै उनी भन्छन्,‘मेरो माइलो दाई पनि माओवादी हो ।

म ६ वर्षको हुँदा सदरमुकामदेखि माइलो दाइ घर आउनुभयो । दाइसँगै ठूला ठूला झोला बोकेका माओवादीहरु आउने गर्थे । मान्छे आएको देख्दा को हुन् भनेर सोध्दा सरहरु भन्नुहुन्थ्यो । उनीहरुसँग विभिन्न हतियार हुन्थे । माओवादी आउने जाने क्रम चलि नै रह्यो । पछिपछि माओवादीले हामी बालबालिकालाई विभिन्न विषयका तालिम पनि दिन थाले ।’

युद्ध चलिरहँदा सरकारी पक्षबाट भएका दमनका घटनाहरु पनि उनी सम्झन्छन् । उनी अगाडि थप्छन्, ‘राज्य पक्षका सेनाहरु पनि बेला बेला आइरहन्थे । माओवादी आउँदा डर लाग्थेन, जति सरकारी सेना आउँदा डर लाग्थ्यो । गाउँमा सेना आएका बेला सेनाले हामीहरुलाई फकाउँथ्यो । कति थिए माओवादी ? भनेर सोध्थ्यो । हामी पनि उनीहरुलाई यतै यतै भागे यत्तिकै भदिन्थ्यौं उनीहरु पनि उतै उतै बाटो तताउँथे ।

रुख ढल्दा पनि बुबालाई जङ्गल धपाउथ्यौं :

गाउँमा भएका सबै जग्गा जमिन पनि बाँझो छोडेर सबै माओवादीमा होमिएका थिए । केहिलाई राज्य पक्षबाट जिउँदै आगो लगाएर मारियो भन्ने सुनिन्थ्यो भने केहिलाई घाँटी रेटेर मारियो भन्ने घटनाहरु सुनिइरहन्थे, प्रेमले विगत सम्झँदै भने । उनले थपे ‘गाउँमा कतै त्यस्तो घटना भएको सुन्नासाथ डरले आङ सिरिङ्ग हुन्थे । टाउकाका रौँ ठाडा पर्थे ।’ कतै रुख ढल्दा, गोली चल्दा, आकाश गड्याङगुडुङ हुँदा पनि त्रासले सेना आयो मार्छ अब भन्ने डरले गाउँका मान्छेहरुको भागाभाग हुन्थ्यो । सो समयमा हामीले घरबाट बुबालाई पनि जंङ्गल धपाउथ्यौँ ।

जंगलमै बास हुन्थ्यो :

दिनभरि त्रासका बिच मरिमेटी घरबारीमा हलो जोत्दै कोदालो खन्दै दिन बित्थ्यो । त्यो पनि त्रास नै त्रास बिचमा । दिनहरु ढल्के पनि गाउँका सबैजना जंगलतिर जानुपर्ने हुन्थ्यो । जंगलमा बस्दा पनि सुरक्षाका लागि सेन्ट्री बस्ने चलन थियो । सेना आए सिट्टी बजाएर भाग्न लगाइन्थ्यो । जंगल गए पनि सुत्न पाइँदैन थियो । रातभरी सेना कताबाट आएर आक्रमण गर्ने हो भन्ने त्रासले निन्द्रा पर्दैन थियो । नसुतेरै बिहानी हुन्थ्यो ।

माओवादी ठानेर राज्यले यातना दियो :

जनयुद्धमा माओवादीले भन्दा राज्य पक्षबाट ठूलो यातना पाएको प्रेमको भनाइ छ । गाउँमा माओवादी आउँदा किसानहरुलाई सघाउँथे । उनी भन्छन्, ‘तर सकारी सेनाहरु आउँदा किसान नै मारिन्थे, कैयौँलाई घाइते बनाउँथे र हाम्रो घर लगायत चारवटा घर पनि जलायो र आमालाई पनि कुटे ।’
प्रेमले अझ अगाडि थप्दै गए,‘सरकारी सेनाले दाइलाई घरबाटै अपहरण गरेर लियो । विभिन्न यातना दियो । मुस्किलले बाँचेर फर्किए । विस्तारै गाउँमा माओवादी आए भने मन खुशी हुन थाल्यो । तर सरकारी सेना आयो भन्ने सुन्दा मार्छ कि भनेर शरिरमा डरले काँडा उम्रिन्थे ।

कहिलेकाँही सेनाले माओवादीलाई स्यालले कुखुरा लिए झैं लतार्दै लैजान्थ्यो । कुनै बेला त सरकारी सेनाले माओवादीलाई मारेको भन्ने खबर पनि सुनिन्थ्यो । कोही भने विभत्स तरिकाले मारेर फालेको अवस्थामा भेटिए भन्ने पनि सुनिन्थ्यो ।

सरकारी सेना गाउँमा पुगे केटाकेटीका कन्चटमा गोली राख्दै भन् कता छन् माओवादी ? भन्दै धम्क्याउँथे । हामी पनि यतै यतै गए, धेरै माओवादी थिए भन्दै ढाँटेर सेनालाई अर्कै ठाउँमा पठाउथ्यौं ।’

सिंगानैसित लालसलाम भनिन्थ्यो :

जनयुद्धकै समयमा भए गरेका र आफैले भोगेका अनुभवलाई बाँड्नेक्रममा प्रेमले थपे,‘हाम्रो गाउँघर माओवादी आइरहने ठाउँको रुपमा चिनिने गर्दथ्यो । आउँदा जाँदा युवा, केटाकेटीदेखि वृद्धसम्मलाई ‘लालसलाम’ भन्दै फर्किन्थे । सबैले ‘लालसलाम’ फर्काउँथे । हाम्रो उमेर सानै थियो ।

गाउँघरका सबै केटाकेटी एकै ठाउँमा आएर जम्मा हुन्थ्यौं । माटोमा खेल्थ्यौँ । माटोमा खेल्दा खेल्दा शरीरभरि माटो भरिएको हुन्थ्यो । नाकबाट सिंगान चुहिएको हुन्थ्यो ।’ प्रेमले त्यहि सिंगान बाँया हातको नाडीमा लतार्दै खस्न लागेको पाइन्टलाई एक हातले समाउँदै ‘लालसलाम’ भन्ने गरेको आफ्नै भोगाई पनि सुनाए ।

पिलि आक्रमण हुँदा के भयो ? :

जनयुद्धकोक्रममा भएका लडाइँमध्ये कालिकोटको पिलिमा भएको लडाइँ पनि निकै महत्वपूर्ण लडाइँ थियो । कालिकोटको पिलिमा भएको लडाइँको नजिकैबाट अनुभूती गर्न पाएका प्रेमले आफ्ना भोगाईहरु अझ थप्दै गए । ‘त्यस लडाइँबाट माओवादीले निकै ठूलो सफलता हात पारेको भन्ने पनि सुनिन्थ्यो ।

२०६१ साउन २३ गते भएको त्यो घटना झन् मानसपटलमा अझै झल्किन्छ । साँझ ४ बजेदेखि सुरु भएको फाइरिङ राती १ बजे मात्रै रोकिएको थियो । त्यतिबेला माओवादी पराजित भयो अब हामीलाई सरकारी सेनाले मार्छ भनेर हाम्रो भागाभाग भयो ।

तर लडाइँ माओवादी जनसेनाले जितेको रहेछ । भोकभोकै लडेका माओवादी सेनाहरु खानका लागि गाउँगाउँकमा पसेका थिए । भोकले चाम्रिएका उनीहरुले काँचो पीठो समेत खाएर भोग मेटाएका थिए ।’

माओवादीले जितेको प्रचार गर्थ्यौं :

बाल संगठनमा समेत आवद्ध भएका काम गरेका प्रेमले बाल संगठनमा रहेर कलाकारीता गरेको अनुभव पनि कम्ति रोचक छैन । उनी अगाडि भन्छन्, ‘गाउँमा हामी सानासाना केटाकेटीको बाल संङ्गठन हुन्थ्यो । त्यहि संगठन मार्फत् लुकामारी खेल्ने गर्थ्यौं ।

दश वर्षे जनयुद्धको नक्कल गर्दै एकपक्ष माओवादी र अर्कोपक्ष सेना हुन्थ्यौं । त्यसभित्र कमाण्डर छान्ने । ठाउँहरु कब्जा गर्ने । आक्रमण गर्नेजस्ता नक्कल गथ्यौं । अन्तिममा माओवादीले जितेको र सेनाले हारेको नक्कल गथ्यौं ।’

घाइते र अपाङ्गको संरक्षण खोइ ? :

२०५२ सालदेखि २०६३ सम्मको जनयुद्धमा सहिद भएकाका परिवारलाई ६ लाखदेखि १० लाखसम्म राहत दिनु ठिकै हो । तर, घाइते र अपाङ्गलाई राज्यले नहेर्नु दुःखद कुरा भएको चौलागाईंको भनाइरहेको छ । बेपत्ता र घाइते परिवारलाई समेटनुपर्ने हो’ उनले भने, ‘घाइते र अपाङ्ग र सहिद परिवारलाई सहयोग गरेमा माओवादी पहिलो पार्टी बन्छ ।’

हिजो गरिब, आदिवासी, जनजाति, दलितलाई लिएर युद्ध लडेर उनैले आर्जेको यो मुलुकमा उनीहरुलाई नै सहयोग नहुनु दुःखद कुरा हो भन्ने बुझाइ प्रेमको रहेको छ ।