• मंसिर १३ २०८१, बिहीबार

प्रम जोन्सनका लागि ओमिक्रोनभन्दा खतरनाक डाउनिङ स्ट्रिट ड्रिङ्क

पुष २९ २०७८, बिहीबार

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका लागि ओमिक्रोनभन्दा पनि खतरनाक हुन पुगेको छ डाउनिङ स्ट्रिट ड्रिङ्क । यसले उनको कुर्सी र प्रतिष्ठा दुवै हल्लाइरहेको छ । लकडाउनको बेलामा आयोजित डाउनिङ स्ट्रिट ड्रिङ्क पार्टीमा सहभागी भएपछि उनीमाथि प्रधानमन्त्रीको पदबाट राजीनामा दिन दबाब बढिरहेको छ ।

डाउनिङ स्ट्रिट गार्डेनमा आयोजित १०० जनालाई आफ्नो मदिरा आफैँ ल्याउने गरी सो पार्टीमा सरिक हुन आमन्त्रण गरिएको थियो । त्यहाँ बोरिस जोन्सनले सहभागिता जनाएका थिए । त्यो भेलामा ५० प्रतिशतभन्दा कम आमन्त्रितको सहभागिता रहेको जनाइएको थियो ।

यस विषयमा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्री जोन्सनले औपचारिक रूपमा क्षमायाचनासहित गल्ती स्वीकार गरिसकेका थिए । धेरै पटक प्रश्न उठ्दा चुलिन थालेको जनआक्रोश साम्य पार्न उनले यसो गरेका थिए ।

यो विवादको सकारात्मक अवतरणका लागि उपप्रधानमन्त्री डोमिनिक  र्यावलसहितका मन्त्रिमण्डलका कतिपय सदस्यहरूले जोन्सनको बचाउ गरे पनि उनीमाथि राजीनामाको चर्को दबाब परिरहेको छ । स्कटिस टोरी नेता डग्लस रोस र विधायक विलियम र्याग, क्यारोलिन रोस र रोजर गेलले जोन्सन प्रधानमन्त्रीको हैसियतमा रहिरहन नसुहाउने टिप्पणी गरिरहेका छन् ।

बुधबार मात्र जोन्सनले हाउस अफ कमन्समा क्षमायाचना गरेका थिए । तर उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने विचार व्यक्त गर्दै आएका डग्लस रोसले भने प्रधानमन्त्री र उनको आफ्नै सरकारले कोभिड–१९ सम्बन्धी नियमहरू लागु गराउनु पर्ने जिम्मेवारी रहेकाले उनी प्रधानमन्त्रीको हैसियतमा रहनु हुँदैन भनी विरोध गर्दै आइरहेका छन् ।

यो विषयमा निकै चर्काचर्की भैरहेका बेला यदि ५४ ‘ब्याक बेन्च’ कन्जरभेटिभ विधायकले १९२२ समितिमा पत्र पठाए भने प्रम जोन्सनका लागि ठूलो चुनौती आइपर्ने छ । हाल यस विषयमा वरिष्ठ निजामती कर्मचारी सु ग्रेको नेतृत्वमा गठित अनुसन्धान प्रतिवेदन नआउन्जेल पर्खनु पर्ने आवाज पनि उठिरहेको छ ।

जोन्सनले भने सन् २०२० को २० मेमा आयोजित उक्त कार्यक्रम निकै मेहनत गरी जनतामा सेवा प्रवाह गरिरहेका कर्मचारीको समूहलाई धन्यवाद दिन आयोजित गरिएकाले यो आफ्नो दायित्वसँग जोडिएको दाबा पनि गरिरहेका छन् । प्रम जोन्सनका अनुसार उनी उक्त कार्यक्रममा मात्र २५ मिनेट बसेका थिए ।

(एजेन्सीको सहयोगमा)