२०७२ सालमा भूकम्पले जनधनको ठूलो क्षति पुर्यायो । त्यसपछि सहरिया जानकारहरुले भूकम्पबाट बच्ने प्रोटोकल बनाएर उर्दि दिए– ‘घरको बलियो पिलर मुनी ओत लाग्नु’, ‘बेञ्च डेस्क र खाटको मुनी पस्नु’ । बिचरा गाउँका जनता र विद्यार्थी भूकम्प आउँदा खुला चौरमा बसिरहेको भए पनि दगुर्दै विद्यालय कक्षाकोठा चाहार्दै बेञ्च र डेस्क मुनि लुक्न गए, गाउँलेहरु घरको मूली थामको मुनी ओत लाग्न पुगे । यसले गर्दा पनि धेरैको ज्यान जोखिममा पर्न गएको थियो ।
यो प्रोटोकल सहरमा लागू हन्थ्यो, तर गाउँमा त्यो ठीक उल्टो थियो । सहरमा बाहिर निस्कने बाटो र खुला ठाउँ नहुनाले त्यो उपयुक्त थियो । तर गाउँमा प्रशस्त खुला ठाउँ हुने हुनाले त्यो प्रचार र सावधानी त्यति उपयुक्त थिएन । भूकम्पबाट बच्ने उपायको प्रचार यसरी एकोहोरो रुपमा गरियो । राजधानी सहरभित्र सहरीया मानसिकतामा छापिएका पोष्टर गाउँगाउँमा टाँसिए । यही कुरा एकोहोरो सूचित भयो ।
१९९० सालतिरको जमानामा भूकम्प आउँदा ‘भूईंचालो आयो’ भन्दै घरमूली बाहिर निस्केर ठूलो आवाजमा छिमेकीलाई सतर्क गराउँदै गर्दा घरभित्र रहेकी आफ्नी अर्धाङ्गिनीले ‘बाहिर नजानुस् भूईंचालोले खाला, भित्र आउनूस्’ भने झैं मेला महोत्सव लगाएर मानिस जम्मा गरेर जिम्मेवार भनिनेहरुले ओमिक्रोनको तेस्रो लहरबाट सतर्क रहन आह्वान गरिरहेका छन् । यस्तो बिन्दास छ नेपाली संसार !
देशभर ओमिक्रोन संक्रमणको लहर फैलँदो अवस्थामा छ । स्वास्थ्य प्रोटोकल निर्माण र सार्वजनिक गरिएको छ । तर त्यो प्रचारका लागि मात्र । शायद, विश्वलाई देखाउनका लागि । नेपाली नीति निर्माताहरु सेता कागजमा काला अक्षर कोरेर कागजी विकास निर्माण गर्न खप्पिस छन् । हालको स्मार्ट लकडाउनको स्वास्थ्य प्रोटोकल पनि यही बिडम्बनाको सिकार बनिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट अत्यधिक संक्रमित युरोप लगायत विश्वलाई ‘ख्याल ख्यालमा स्याल’ पल्कन सक्ने भन्दै कडा चेतावनी दिइरहेको छ । अति संक्रामक र आक्रामक प्रकृतिको ओमिक्रोन भेरियन्टले ठूलो धनजनको क्षति पुर्याउन सक्ने हुनाले उच्च सतर्कता अपनाउन र कुनै पनि हालतमा हेलच्याक्राइ नगर्न अनि सचेत र सावधान हुन भनिरहेको छ ।
आफैले निर्माण गरेको स्वास्थ्य प्रोटोकल मन्त्रीहरु तथा कर्मचारीहरु आफैले उल्लंघन गरेको भनी बेलायतमा ठूलो तहल्का मच्चिइरहेको छ । राजीनामा समेत माग गरिएको छ । तर नेपालमा त्यसको कुनै चासो वा चिन्ता सम्म पनि रहेको पाइँदैन । साधरण जनता आफू र बढिमा एकाध जना संक्रमित गराउने नकारात्मक पहुँच राख्न सक्छन् भने सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा मातहतका कर्मचारीले सैयौं र हजारौंको संख्यामा ।
देशमा अहिले स्मार्ट लकडाउनको व्यवस्था छ । पूर्णलकडानको भार देशले आर्थिक रुपमा थेग्न नसक्ने निष्कर्षमा सरकार पुगेपछि यसको स्वरुप बदलेर स्मार्ट लकडाउनको स्वरुपलाई पछ्याइएको हो । सचेततापूर्वक लकडाउनका सबै प्रोटोकलहरुको गम्भीरतापूर्वक पालना गर्ने भन्ने यसको अर्थ लाग्छ । यसमा लागू गरिने प्रोटोकलको आधारभूत मान्यता भनेको २५ जनाभन्दा बढी मानिस भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाउने भन्ने नै हो ।
तर यसको पालना भने अपेक्षा अनुरुप हुन सकिरहेको छैन । स्मार्ट लकडाउनमा स्वास्थ्य प्रोटोकलको जानीजानी उलङघन गर्ने काम सरकार र सरकारी निकायबाट हुने गरिरहेको छ । यो बेलामा राजनीतिक पार्टीहरुका भेला, सम्मेलन तथा महाधिवेशनहरु सम्पन्न गरिएका छन् । पार्टीका जम्बो वैठकहरु यसै बेलामा बस्ने गरिरहेका छन् । तर राजनीतिक नेतृत्व भने स्वास्थ्य प्रोटोकलको निर्माण र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी सरकारको मात्र हो भन्ने गलत सोचमा रहेको देखिन्छ ।
परिणामतः अहिले पार्टीका शीर्ष नेताहरु सबै कोरोना महामारीको पछिल्लो भेरियन्टबाट संक्रमित भै आआफ्ना निवासमा सेल्फ आइसोलेशनमा दिन काटिरहेका छन् । ठूला ठूला कार्यक्रममा सहभागी भएका यी नेताहरुले कति जनता र कार्यकर्तालाई यो महामारीको संक्रमण सार्न स्वयम् माध्यम बने, यो भने स्वास्थ्य क्षेत्रको खोजीको विषय बनेको छ ।
त्यसै गरी सरकार र सरकारी निकायका प्रतिनिधि तथा कर्मचारीहरु पनि लापर्वाहीको यही पथमा उद्यत रहँदै आएका छन् । स्थानीय मेला, पर्व तथा महोत्सवको आयोजना गरेर उनीहरु मुख्य अतिथि तथा अतिथिको आशनमा रमाउन ठिक्क छ । उनीहरु नै के गरियो भनी समीक्षा गर्ने र स्वास्थ्य प्रोटोकल पालना गर्ने अवस्थामा रहेका देखिदैनन् ।
स्थानीय जनप्रतिनिधि तथा स्थानीय प्रशासक तथा अधिकारीहरु कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण जोखिम बढेको भन्दै जिल्ला कोभिड सङ्कट नियन्त्रण समितिको बैठक बसी स्वास्थ्य प्रोटोकल सार्वजनिक गर्ने र सार्वजनिक गरिएको विज्ञप्तिकोे मसी सुक्न नपाउँदै मेला तथा महोत्सवमा भाग लिन पुग्ने गरिरहेका छन् ।
यिनै अधिकारी तथा प्रतिनिधिहरु देशमा कोरोनाको तेस्रो लहरको महामारी आउँदै छ भनेर मञ्चबाट भाषण गरिरहेका छन् ।