काठमाडौं । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम र त्यसले पारेको प्रभावको बारेमा गोल ब्रीफिङ गरिन्छ । यसका साथै सामाजिक, आर्थिक, कुटनीतिक, भ्रष्टाचार न्यूनीकरण, सुशासन र वैचारिक बहसलगायतका थुप्रै पक्ष पनि ब्रीफिङमा समेटिन्छन् । विशेष गरि दिनभरीका घटना परिघटनाको चियोचर्चा नै गोल ब्रीफिङका अर्थपूर्ण सामाग्री हुन् ।
सार्वजनिक निकाय र स्थलमा खोपकार्ड अनिवार्य :
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमण बढेको छ । संक्रमण बढेसँगै उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ भने माघ ७ गतेदेखि सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको छ ।
तथापि धेरैले अझै खोप नलगाएका छैनन् । यसर्थ जिल्ला प्रशासन कार्यालयको यो निर्णयको आलोचना हुँदै आएको छ । प्रशासनको यो निर्णयप्रति आलोचना बढेपछि सरकारले आगामी माघ ७ गते पछाडि नै त्यो खोप कार्डको व्यवस्था गरिएको हो ।
काठमाडौं उपत्यकामा करिब ९० प्रतिशतले कोभिड १९ विरुद्ध खोप लगाइसकेको बताइएको छ । १० प्रतिशतलाई पनि एक साताभित्रै अनिवार्य खोप लगाउन जिल्ला प्रशासन र स्थानीय सरकारले आग्रह गरेको छ ।
प्रशासनले माघ ७ गतेदेखि सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश गराउन निर्देशन दिएको छ । यस्तै, ७ गते देखि नै जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।
भएनन् विद्यालय बन्द :
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले केही दिअघि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोही निर्णय देशका ७७ वटै जिल्लामा लागु गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।
तथापि केन्द्र सरकारको निर्णयलाई अवज्ञा गर्दै स्थानीय सरकारले आफ्नो माथतका विद्यालय बन्द गरेका छैनन् भने नियमित पठनपाठन भइरहेको छ ।
माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिइसकेको अवस्थामा केन्द्रबाट विद्यालय बन्द गर्न दिइएको ठाडो निर्देशनप्रति स्थानीय तहले आपत्ति जनाएका छन् । उपत्यकाबाहेक देशका अधिकांश जिल्लाका स्थानीय तहमा अहिले पनि विद्यालय बन्द भएका छैनन् भने शिक्षक, विद्यार्थीहरूको भौतिक उपस्थितिमै पठनपाठन भइरहेको छ ।
सिडिओ र मेयर महोत्सवमा :
कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै देशका कुनै पनि ठाउँमा मेला महोत्सव नगर्न केन्द्र र स्थानीय सरकारले भनेका छन् । तथापि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज चितवन महोत्सव घुम्न पुगेका छन् ।
सर्वदलीय सर्वपक्षीय बैठकले पुष २७ गतेदेखि जिल्लामा सञ्चालन भएका र सञ्चालनको तयारीमा रहेको मेला, महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । चितवनमा २६ गतेभन्दा पछाडि सञ्चालन गरिने महोत्सव बन्द गरिने भए पनि सबै व्यवस्थापन भएको चितवन महोत्सव सञ्चालन गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै सीडीयो तामाङ र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगेका हुन् ।
कोरोनाको तेस्रो लहरको सुरू भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक लगाएको छ ।