• असार २५ २०८१, सोमबार

सगरमाथा सिमेन्टले ढलान गर्दै गरेका घरका पिलर ह्वारह्वार भत्कन थालेपछि… (भिडियो सहित)

पुष २८ २०७८, बुधबार

घोराही, २७ पुस ।
नेपालमा उत्पादन तथा वितरण भइरहेका सिमेन्टहरुका गुणस्तरका बारेमा बेलाबेलामा बहस र विवादहरु आउने गर्दछन् । कहिले कतै पुलहरु भाँचिएका र भत्किएका समाचारहरु आउँछन् भने कहिले घरका ढलान नै खसेर मानवीय तथा भौतिक क्षति भएका समचारहरु आउँछन् ।

यसैबीच दाङमा उत्पादन तथा वितरण भइरहेको सगरमाथा सिमेन्टको पनि यस्तै समस्याहरु सतहमा आएका छन् । घोराहीमा निर्माण गर्न लागिएको एउटा पक्की भवन ढलान गर्नका लागि उठाइएको पिलर भत्किएपछि यस्तो समस्या उजागर भएको हो ।

पिलर उठाएर प्लास्टर गरेको ६ दिनसम्म पनि सरियामा मसला सेट नभएपछि घोराही–१४ का कृष्णकुमार बुढाले ती पलर भत्काउन खोज्दा सानो धक्काले पनि मसला सजिलै खसेपछि उहाँलाई शंका लाग्यो । अनि मिस्त्रीले कत्तिको सेट भएको छ भनेर जाँच गर्दापनि मसला सजिलै खस्न थाल्यो । बुढाले सोमबारदेखि मंगलबार विहानसम्म पिलर भत्काउन कामदार लगाउनु भएको थियो ।

केहि पिलर ढलान खोल्दाखोल्दै भत्किएको घरधनी बुढाको भनाइ छ । अरु पिलरमा राखिएको मसला पनि फ्यास फ्यास् गर्दै सजिलै झरेपछि सबै मसला फाल्नु परेको हो । तस्विरमा झण्डै सबै पिलरहरु पुरै भत्काइएको देख्न सकिन्छ । घरको भुइँ तलामा गरिएको ढलान पनि कामदार लगाएर उम्काइएको छ । भत्काइएको ठाउँमा सिमेन्टका चपेराहरु हुनुपर्नेमा माटोको जस्तो थुप्रो बन्ने गरेको छ । घरधनि बुढाका अनुसार दुई तिन मिनेटमा ह्रवार ह्रवार पिलरको ढलान खस्यो ।

बुढाले भन्नुभयो,‘यो सरिया पनि काम लाग्दैन’ उहाँले फेरि थप्नुभयो, ‘पिलरको अवस्था त्यस्तो देखेपछि भइँतलाको ढलाईमा पनि विश्वास भएन ।’ उहाँका अनुसार अब सो सिमेन्ट प्रयोग गरेर गरिएको सबै ढलान पनि काम लाग्ने देखिएन अब तलैबाट सफा गर्नुपर्ने देखिन्छ पिलर त ढलेढले ।

 

यस विषयमा सगरमाथा सिमेन्ट उद्योगका सञ्चालकसँग सम्पर्क गर्दा सम्बन्धित घर धनिसँग सम्झौता भइसकेको बताए । सिमेन्ट उत्पादनका क्रममा सामान्य त्रुटी भएको भने उद्योग स्रोतले स्विकारेको छ । अरु तिन चार ठाउँमा पनि समस्या देखिएको श्रोतको भनाई छ ।

उनीहरु सबैलाई आवश्यक क्षतिपूर्ति दिइने र व्यक्तिको नोक्सान् हुन नदिने बताएको छ । यति आश्वासन दिइएको भएपनि निर्माणधीन घरका धनिहरुले भने विश्वास गर्न सकेका छैनन् । यस्ता कच्चा र गुणस्तरहीन वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कारवही होला कि, भित्र भित्रै सुटुक्कै कुरो मिलाइएला त्यो भने हेर्न बाँकि नै छ ।

(भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्) ।