काठमाडौं । साता दिनको अन्तरालमै उत्तर कोरियाले दुईदुईवटा मिसाइलको सफल परीक्षण गरेको छ । पछिल्लो समयमा परीक्षण गरिएको हाइपरसोनिक मिसाइल राष्ट्रपति किमकै उपस्थितिमा गरिएको हो ।
एक हप्ताभित्रै दुदुईवटा क्षेप्यास्त्र परीक्षण गरेपछि यसले संसारलाई आश्चर्यमा पारेको छ । जनवरी ५ मा यो मिसाइल सफलतापूर्वक परीक्षण गरिए पछिको उत्साहित वातावरणकै बीचमा उत्तर कोरियाले मंगलबार नेता किम जोङ उनको उपस्थितिमा अर्को हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको हो ।
उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको उक्त सुपरसोनिक क्षेप्यास्त्रले एक हजार किलोमिटर परको निसानामा मार गरेको जनाएको छ । उत्तर कोरियाको जानकारी अनुसार यो तेस्रो हाइपरसोनिक मिसाइल प्रक्षेपण हो ।
यसको अर्थ यो लाग्छ कि पहिलो हाइपरसोनिक मिसाइलको परीक्षणबारे कुनै पनि देशले थाह पाएका थिएनन् । शायद यो छोटो दूरीमा परीक्षण प्रहार गरिएको हुनु पर्छ । त्यस पछिका दोस्रो र तेस्रो प्रक्षेपणमा सापेक्षतामा टाढाको दूरीमा मार हान्न सक्ने बनाइएको देखिएको छ ।
राष्ट्रपति किमले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्योङयाङको प्रतिरक्षालाई बढाउने विश्वास दिलाएका थिए । शुभकामना दिएको एक साताभित्रै प्योङयाङले दुदुईवटा हाइपरसोनिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ ।
मंगलबार गरिएको पछिल्लो प्रक्षेपण भने दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए । समुद्रतर्फ क्षेप्यास्त्र प्रहार गरेलगत्तै उनीहरुले यसको गति र मारलाई पनि पहिचान गर्न सफल भएका थिए । केसीएनए समाचार संस्थाले जनाए अनुसार यो प्रक्षेपण निकै उच्च र गतिशील थियो ।
यी प्रक्षेपणहरुलाई लिएर अमेरिकालगायत बेलायत, फ्रान्सआदिले निन्दा गरे पनि प्योङयाङले आफ्नो कार्यमा बिराम दिएको छैन । हाइपरसोनिक मिसाइलहरु ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइ लिँदै साँधिएको निसानातर्फ मार हान्न पुग्छन् । यिनको गति ध्वनीको गतिभन्दा पाँच गुणा बढी अर्थात् १.७ किलोमिटर प्रतिसेकेण्ड हुन्छ ।
यसको सफलतम् परीक्षण र प्रक्षेपणपछि हाइपरसोनिक मिसाइल विकास गर्न सक्ने थोरै देशहरुको पंक्तिमा उत्तर कोरिया परिसकेको छ । हाल अमेरिका, रुस र चीनले यो क्षेप्यास्त्र विकासको अग्रपंक्तिमा आउँछन् ।
(एजेन्सीको सहयोगमा)