काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले डेढदेखि दुई महिनामा आधा युरोप कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको चपेटामा पर्ने चेतावनी दिएको छ । डब्लुएचओका डा.हान्स क्लगका अनुसार ओमिक्रोन छालको रुपमा पश्चिमदेखि पूर्वसम्म युरोपमा फैलिरहेको छ । ओमिक्रोन संक्रमणको गति डेल्टा भेरियण्टको भन्दा उच्च वृद्धि दरमा भएको बताइएको छ । सन् २०२२ को पहिलो साता युरोप भरि पुष्टि भएका ६० लाख नयाँ संक्रमणको आधारमा यो प्रक्षेपण गरिएको हो ।
गएको दुईसाताको अवधिमा युरोपमा ओमिक्रोन संक्रमिको संख्या दोब्बर भन्दा बढी भएको छ । ‘सन् २०२१ को अन्त्यसम्म सबै देशहरुले खेपिरहेको डेल्टा भेरियन्टको लहरमा थपिएको नयाँ भेरियण्न्ट ओमिक्रोनले पश्चिमबाट पुर्वतर्फ फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ’, डब्लुएचओले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. क्लगले भने । हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशन इन्स्टिच्युटलाई उद्धृत गर्दै उनले आगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशत भन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने चेतावनी दिए ।
उनले भाइरस पश्चिमी देशहरुबाट फैलिएकाले युरोपेली र मध्यएशियाली देशहरु सङ्क्रमणको तीव्र दबावका साथमा रहेको बताए । ‘अब कुन देशले यस परिस्थितिमा के गर्ने ? भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध साधन स्रोतहरु, खोप वितरणको स्थिति र सामाजिक–आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्छ,’ उनले थपे ।
पछिल्ला अध्ययन र अनुसन्धानहरुका अनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरियन्टहरुको तुलनामा गम्भीररूपमा बिरामी पार्ने सम्भावना कम छ तर यो अत्यधिक सङ्क्रामक भेरियन्टले पूर्ण मात्रा खोप लगाए पनि सङ्क्रमित गर्न सक्छ । यस भेरियन्टको सङ्क्रमण दरले स्वास्थ्य प्रणालीमा तनाव सिर्जना गरेको छ । बेलायतमा धेरै अस्पतालहरुले कर्मचारीको अनुपस्थिति र कोभिड–१९ का कारण बढ्दो दबावका कारण स्थिति गम्भीर भएको घोषणा गरेका छन् ।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गत हप्ता अस्पतालहरुका लागि कठिन बन्ने चेतावनी दिएका थिए । उनले ओमिक्रोनका सङ्क्रमितहरुले अस्पतालका सामान्य शैया ओगटेको र डेल्टा भेरियन्टका सङ्क्रमितहरु भने सघन उपचार कक्षसम्म पुगेका बताएका थिए । पूर्वीयुरोपस्थित पोल्याण्डमा महामारी सुरु भएदेखि हालसम्म सङ्क्रमणका कारण एक लाख मानिसको मृत्यु भएको बताइएको छ । सो देशमा कोभिड–१९ का कारण भएको मृत्युदर विश्वको छैटौँ उच्च हो । त्यस देशका लगभग ४० प्रतिशत जनसङ्ख्याले खोप लगाएका छैनन् ।
उता रुसका स्वास्थ्य अधिकारी अन्ना पोपोभाले सरकारको कोरोनाभाइरस कार्यदललाई सङ्क्रमण नियन्त्रणका लागि कुनै कदम नउठाए देशको दैनिक सङ्क्रमण दर एक लाख पुग्न सक्ने बताएकी थिइन् । समाचार संस्था रोएटर्सका अनुसार नोभेम्बर महिनाको सुरुमा पुष्टि भएको ४१,३३५ दैनिक सङ्क्रमण संख्या केही समययता घटिरहेको थियो ।
पोपोभाका अनुसार देशभरका १३ क्षेत्रमा ३०५ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । रुसमा कम्तीमा ३११,२८१ जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ र एक करोड पाँच लाख मानिसलाई सङ्क्रमण भइसकेको छ ।
सोमबार फाइजरले ओमिक्रोनविरुद्ध विशेष सुरक्षा प्रदान गर्ने खोपको नयाँ संस्करण आउँदो मार्चमा सार्वजनिक गर्ने बताएको थियो । विज्ञहरूले भने त्यसको उपयोगिताको महत्व स्पष्ट नभएको बताएका छन् ।