काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् ।
आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै उनले जसरी पनि खर्च गर्न आग्रह गरे । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, शर्माले भने ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’
मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न सुझाव दिए । उनले ठुला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ठुला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने शर्माको भनाइ छ ।
विद्यमान काम गर्ने प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए । उनले भने ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुईचार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’
पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।