• बैशाख १६ २०८२, मंगलवार

लिपुलेकमा भारतले सडक विस्तार गरिरहँदा सरकार किन मौन ?

पुष २७ २०७८, मंगलवार

काठमाडौँ। भारतले लिपुलेकको नेपाली भूमिमा सडकलगायत संरचना बनाउँदा पनि मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि प्रश्न उठाएको छ ।

एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् ।

“नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ । सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ,” विज्ञप्तिमा भनिएको छ । ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’

साथै भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बल मिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग एमालेले माग गरेको छ ।