काठमाडौँ । ऋण र धन सबैको हुन्छ । ऋण र धन भन्ने बित्तिकै मानिसहरु पैसाको कारोबार हुने संस्था बैंकलाई सम्झन्छन् । बैंकहरुले निक्षेपकर्ताको निक्षेप स्वीकार गर्छन् वा लिन्छन् र ऋण प्रवाह गरेर लगानी पनि गर्ने गर्छन् । व्यापारी व्यवसायी तथा आम मानिसहरु बैंकबाट ऋण लिएर काम चलाइरहेका हुन्छन् ।
बैंकमा गएर निक्षेप जम्मा गर्ने काम सहजै हुने गर्छ भने बैंकबाट ऋण लिने क्रिया भने अलि झञ्जटिलो हुनेगर्छ । बैंकबाट ऋण लिने कुरा झञ्जटिलो मात्रै होइन कतिपय अवस्थामा त यो प्रकृया जटिल समेत हुने गर्छ । कतै कतै त ब्यस्तो बैंकबाट ऋण लिने प्रकृया यतिसम्मको झञ्जटिलो बनाइएको हुन्छ कि सेवाग्राहीलाई त्यस्तो प्रकृयाले वाक्कदिक्क समेत बनाएको हुन्छ । यसरी बैंकबाट ऋण लिंदा प्रकृया लामो भएर वाक्कदिक्क हुनुसम्म त एक प्रकारको दुःख भयो । तर भारतमा हालै एउटा यस्तो घटना भएको छ कि बैंकको ऋण प्रवाह गर्ने प्रकृया लामो हुँदा र ऋण प्रवाह नहुँदा एक सेवाग्राहीले बैंकमा नै आगो लगाइ दिएका छन् ।
भारतको कर्नाटक राज्य हावेरी जिल्लाका ३३ वर्षीय एक युवकले एउटा बैंकमा आगो लगाएका छन् । सम्पूर्ण कागजात लिएर पनि बैंकले ऋण नदिएको भन्दै उनले बैंकमा आगो लगाएको बयान दिएका छन् । बैंकले सुरुमा उनलाई ऋण दिन राजी भएको तर पछि उनले पेश गरेका कागजातहरुमा त्रुटी देखिएको भन्दै बैंकले ऋण दिन आनाकानी गरेपछि उनी आक्रोसमा आएर सो बैंकमा नै आगो झोसेका हुन् ।
एक गैह्रसरकारी संस्था संचालन गर्न उनले बैंकमा ऋण माग गरेका थिए । युवकले धेरैवटा बैंकबाट ऋण लिने प्रयास गरेपनि कुनै पनि बैंकले उनलाई पत्याएनन् । उनलाई बैंकहरुले ऋण नपत्याउनुको मुख्य कारण चाहिँ उनले पहिले नै धेरैवटा बैंकहरुबाट ऋण लिइसकेका थिए । ऋण नपाएपछि ती युवक बैंकको पछाडीको झ्यालको सिसा फोरेर भित्र पसेर साथमा लिएको पेट्रोल छर्केर बैंकमा आगो झोसेका थिए ।
उनले झोसेको आगोबाट सो बैंकमा १६ लाख भारु बराबर नोक्सान भएको बैंकले बताएको छ । बैंकमा आगो झोसेपछि ती युवक नजिकै रहेको पानीको नालीमा हाम फालेका थिए । सबै दृश्य देखिरहेका नजिकका मानिसहरुले उनलाई समातेर स्थानीय प्रहरीको जिम्मा लगाइदिएपछि घटनाको सबै कुरा बाहिर आएको हो ।