• मंसिर ११ २०८१, मंगलवार

पूर्वमाओवादी घटकको ध्रुवीकरण नहुनुमा प्रचण्ड नै बाधक

पुष २७ २०७८, मंगलवार

काठमाडौं । १० वर्षे सशस्त्र जनयुद्ध हाकेको तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएसँगै छिन्नभिन्न अवस्थामा विभाजित छ । आन्दोलनको अस्थित्व नै धरापमा पर्ने गरी उनीहरू चिराचिरा परेका छन् ।

विचार र व्यवस्थामा मन्सुवा नमिलेपछि साना—साना झुण्डमा परिणत उनीहरू यतिबेला न ध्रुवीकरणको पक्षमा छन्, न त सशस्त्र जनयुद्ध वा पुरानै आन्दोलन व्युँताउने पक्षमा । उनीहरू केवल आ—आफ्नै वैयक्तिक आशक्ति र अडानको रुझानमा छन् ।

यसले उनीहरूलाई अग्रगमनभन्दा पश्चगमनको पथमा लम्काइरहेको प्रष्ट देख्न सकिन्छ । कुनै समय अत्याधिक बहुमत ल्याएर सत्तामा पुगेको माओवादी यतिबेला अर्काको टेको बन्नु परेको छ । अर्कैको सहारा लिएर सत्ता र शक्तिको भोग गर्नु परेको छ । यो नियतिबाट पार लाग्न उसलाई निकै कठिन हुने देख्न सकिन्छ ।

२०५२ सालबाट सुरु गरेको सशस्त्र जनयुद्ध २०६२/०६३ सम्म आइपुग्दा उसले अनेकन् उतार—चढावको सामना गर्नुपर्यो । त्यसको नेतृत्व विशेष गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । त्यसपछि शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डले नै नेतृत्व गरेको पार्टी धुजाधुजा हुन पुग्यो ।

यसो हुनुमा प्रचण्ड नै दोषी ठहरिन्छन् । किनकि आफूले सम्हाल्दै आएको पार्टी रातारात चिरा पर्नुमा उनीबाहेक अरूलाई दोष दिन मिल्दैन । यद्यपि अन्य शीर्ष नेताहरूको पनि कमजोरी थियो होला । तर, विशेष त मूल नेतृत्वमाथि नै प्रश्न खडा हुन्छ ।

केही हप्ता पहिले संघीय राजधानी काठमाडौंमा प्रचण्डले नेतृत्व गरेको नेकपा (मओवादी केन्द्र)ले राष्ट्रिय अधिवेशन सम्पन्न गरेको छ । उसले अधिवेशन गर्नुपूर्व विभिन्न सञ्चार माध्यमका संलग्न सम्पादकहरूसँगको छलफलमा उनले भनेका थिए, ‘राष्ट्रिय अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीलाई नयाँ शिराबाट लैजाने छौँ, जसका लागि नयाँ नीति निर्माण र सैद्धान्तिक कार्य दिशा तय भइसकेको र त्यसलाई अधिवेशनबाटै अनुमोदन गरिनेछ ।’

प्रचण्डले यसो भन्दै गर्दा अधिवेशनले नयाँ नीति तय त गर्यो । तर, नेतृत्व आफैले सम्हाले । हुन त माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्ने अर्को नेताले आँट नै देखाएनन् । विगत ३३ वर्षयता उनी मूल नेतृत्वमै छन् । सत्ता र शक्तिको आँडमा रमाउने नेताका रूपमा पनि परिचित प्रचण्ड शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएदेखि नै प्रायः सत्तामा छन् भने हालसम्म पार्टीको अध्यक्ष हुन् ।

उनको इतिहासलाई पर्गेल्ने हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०४६ सालभन्दा पहिले कम्युनिस्ट राजनीतिमा क्रियाशील भएपनि मूलतः २०४८ सालमा शीर्ष नेतृत्व तहमा पुगेका हुन् । २०४८ सालमा उनी नेकपा (मशाल)को महामन्त्री बनेदेखि नै उनले पछाडि फर्किनु परेको छैन । राजनीतिमा अनेक आरोह–अवरोहको सामना गर्नु परेपनि शीर्ष पदिय दायित्व र गहण जिम्मेवारीबाट पछि हट्नु परेको छैन ।

उनी २०४८ मा नेकपा (एकता केन्द्र)को महामन्त्री बने । त्यसपछि २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन गरेर नेकपा (माओवादी) राखियो र उनी महामन्त्री भए । त्यसपछि २०५७ सालमा माओवादीको अध्यक्ष बन्न पुगे ।

प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डलाई नै अध्यक्ष राखेर २०६३ साल चैत २७ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरियो । त्यतिबेला आयोगमा दर्ता गरिएको पार्टीको नाम एकीकृत नेकपा माओवादी थियो ।

त्यसपछि माओवादीले पहिलो पटक अर्थात् २०६९ साल माघ २० गतेदेखि २६ गतेसम्म हेटौँडामा महाधिवेशन सम्पन्न गर्यो । उक्त महाधिवेशनले प्रचण्डलाई नै अध्यक्ष चयन गर्यो भने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्षमा चयन भए । पोष्टबहादुर बोगटी भने महासचिव बने ।

त्यसपछि माओवादीले विराटनगरमा २०७१ साल वैशाख १८ देखि २३ गतेसम्म राष्ट्रिय सम्मेलन गरेको थियो । उक्त राष्ट्रिय सम्मेलनले पनि प्रचण्डलाई नै अध्यक्षमा अनुमोदन गर्यो र भट्टराई वरिष्ठ नेता बने । श्रेष्ठ र बोगटी उपाध्यक्ष भए । कृष्णबहादुर महरालाई भने महासचिव बनाइयो ।

त्यसयता माओवादीले राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ४ अनुसार पाँच वर्षमा राजनीतिक दलले निर्वाचन अनिवार्य गर्नुपर्ने व्यवस्था गरेपनि त्यसो गर्न सकेन । दलसम्बन्धी ऐनलाई लत्याउँदै न सम्मेलन गर्यो न त महाधिवेशन । बरु उसले अन्य पार्टीसँग एकता गरेर हालसम्म सम्मेलन वा महाधिवेशन गर्न सकेको थिएन ।

यो त थियो, प्रचण्डको पुनरावृत्ति । अब प्रशंग सुरु गरौं, उनको पुनरावृत्तिले माओवादीको आकारमा आएको परिवर्तन । प्रचण्ड विगत तीन दशकयता शीर्ष नेतृत्वमा दोहोरिरहेका नेता हुन् । यद्यपि सशस्त्र द्वन्द्वमा हुँदा प्रचण्डले माओवादीको नेतृत्व सम्हाले पनि शान्ति प्रक्रियामा आइसकेपछि शीर्ष नेताहरू मोहन वैद्य ‘किरण’, डा.बाबुराम भट्टराईले पार्टीको नेतृत्व गर्न नचाहेका होइनन् ।

तथापि प्रचण्डले उनीहरूलाई बीचमै केही तिकड्म र जालसाँची रचेर नेतृत्वमा पुग्न दिएनन् । प्रचण्डको तिकड्मबाजी देखेर आजित भएका नेता वैद्यको समूहले काठमाडौंको बौद्धमा २०६९ असार २ र ३ गते संयुक्त भेलाको आयोजना गर्यो । उक्त भेलाबाट प्रचण्डले क्रान्तिलाई धोका दिएको र दक्षिणपन्थीको कोभाजनमा फसेको निष्कर्ष निकाल्दै क्रान्तिको उद्देश्य पूरा गर्न ४० प्रतिशतभन्दा बढी सदस्यसहित पार्टी फुटाएर बैद्य नेतृत्वको नेकपा–माओवादी गठन गर्यो ।

यहीँबाट माओवादीको आकार घट्दै–घट्दै जान थालेको हो । यतिले मात्रै पुगेन, वैद्य नेतृत्वको पार्टीमा पनि असन्तुष्टि बढ्दै गयो । वैद्य यथास्थितिवादी र जडसूत्रवादी भएको आरोप लगाउँदै २०७१ साल मंसिर १५ गते नेत्रविक्रम चन्द ‘विप्लव’ वैद्यको पार्टीबाट छुट्टिएर नेकपा माओवादी हाल नेपाल कम्युनिस्ट पार्टी गठन गरे भने २०७३ जेठ ६ गते रामबहादुर थापा ‘बादल’ समूहले पनि वैद्यको पार्टी छाडेर फेरि प्रचण्ड नेतृत्वको माओवादीमै फर्कियो ।

डा.बाबुराम भट्टराई २०७२ असोज ९ गते माओवादीबाट अलग भएका थिए । उनले २०७३ जेठ ३० गते नयाँ शक्ति नेपाल पार्टी गठन गरे । भट्टराईको नयाँ शक्ति पार्टी पनि २०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरमसँग एकता भएर समाजवादी पार्टी नेपाल गठन भयो । त्यस्तै माओवादीका अन्य नेताहरू गोपाल किराँती, विश्वभक्त दुलाल ‘आहुति’ लगायतले पनि माओवादी छाडे ।

यसरी यी नेताहरूले एकाएक पार्टी छोड्दै गएपछि माओवादीको आकार विस्तारै—विस्तारै साँघुरिँदै गयो । २०६४ सालको संविधान सभाको चुनावमा देशको पहिलो पार्टी बनेको माओवादी हाल तेस्रो पार्टीमा खुम्चिनु परेको छ । पहिलो पार्टीबाट तेस्रो पार्टीमा झरेपछि प्रचण्डले माओवादी केन्द्रलाई नेकपा (एमाले) पार्टीमा एकता गराए ।

एमाले–माओवादी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो । त्यसको केही समयपछि सर्वोच्च अदालतले नेकपा बदर गरिदियो र एमाले, माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए । त्यसपछि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मणि थापा, लेखराज भट्टलगायतका केही नेता एमालेमै रहे ।

यसरी हेर्ने हो भने माओवादी केन्द्र चिरा–चिरा पर्नु, केही शीर्ष नेताले पार्टी नै परित्याग गरि अन्य पार्टीमा प्रवेश गर्नुले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठेको उठ्यै छ भने पार्टीको आकार पनि वर्षेनी साँधुरिँदै गएको छ । आफ्ना समकक्षी एवम् सारथी नेताहरूले बीचैमा पार्टी परित्याग गर्नु, अन्य पार्टीम प्रवेश गर्नु र नयाँ दल खोलेर अगाडि बढ्नुले उनको कमजोरी देखिन्छ ।

त्यसतमात्रै होइन, उनी ३३ वर्ष अर्थात् तीन दसक शीर्ष नेतृत्वबाहेक अन्य पदमा रहनै नचहानुले पनि माओवादीले यो नियति भोग्नु परेको हो । वामविश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘माओवादीमा ३३ वर्ष एउटै व्यक्ति मूल नेतृत्वमा हाबी हुनुले अन्य शीर्ष र क्षमतावान् नेताहरूको पलायन भएको सत्य नै हो । यद्यपि यसबारेमा गम्भीर छलफल गरेर अगाडि बढ्न सक्ने सम्भावना पनि उसमा म देख्दिनँ ।’