काठमाडौं । शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । भौतिक उपस्थितिका कक्षा बन्द भए पनि अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिकाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
देशभरका आधारभूत र माध्यमिक विद्यालय (कक्षा १–१२) मा बिदा दिने निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । मन्त्रालयको निर्णयपछि सीटीईभीटीअन्तर्गतका कक्षा पनि पुस २७ (मंगलबार)देखि माघ १५ सम्म बन्द हुने भएका छन् ।
विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा तेस्रोपटक विद्यालय बन्द गरिएको हो । यसअघि शैक्षिकसत्र २०७६ अन्त्यमा विद्यालय बन्द भएका थिए । त्यसकारण २०७७ को शैक्षिकसत्र असारमा मात्रै सुरु गरिएको थियो ।
२०७७ माघदेखि कोरोना दोस्रो लहरका कारण विद्यालय पुनस् बन्द रहे । यो अवधिमा पनि कतिपय स्थानीय तहले भने स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका थिए । शैक्षिकसत्र २०७८ मा दसैं, तिहार र छठपछि मात्र पूर्णरूपमा विद्यालय खुलेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।