विराटनगर । विराटनगरमा मास्क प्रयोग अनिवार्य गरिएको छ । मास्क नलगाई हिँडे एक सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
प्रदेश नम्बर १ को राजधानीसमेत रहेको विराटनगरमा मास्क नलगाईं हिँडेको पाइएमा एक सय रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय मोरङले निर्णय गरेको हो।
सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरिएको प्रशासनले जनाएको छ। जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयबाट अनिवार्य मास्क लगाउन पर्ने नियम लगाएको हो।
अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने मानिसको संख्या बढ्दै गएपछि उक्त निर्णय लागू गर्नु परेको बताइएको छ।
यसका साथै पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको छ। मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।