• बैशाख १६ २०८२, मंगलवार

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने तयारीमा छौँ : मन्त्री भुसाल

पुष २६ २०७८, सोमबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छिन् ।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको लागि अनुमति दिने तयारी गरेको बताएकी हुन् ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको लागि अनुमति दिइसकेको पनि उनले बताइन् ।

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताइन् ।

उनले भनिन् , ‘हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ । करिब दुई हप्ताअगाडिको क्याबिनेटबाट हामीले यो निर्णय गरेका छौँ । मन्त्रालय अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा छ । हामी कार्यविधिको ड्राफ्ट गरिराखेका छौँ । त्यसपछि हामी स्टेक होल्डरलाई बोलाउने छौँ र त्यसलाई परिमार्जित गरेपछि एउटा निर्णयमा हामी पुग्नेछौँ । विद्युत व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानु भएको बताइन् । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

देशको प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले कम्तीमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुर्‍याउनुपर्ने उनले बताइन् ।

विद्युत् खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन् ।

उनले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई आह्वान गरिरहेको बताइन्।