काठमाडौं । कुनै समय यस्तो थियो । एउटा मानिसलाई आवश्यक पर्ने वस्तुसित अर्को मानिससित भएको वस्तु नै साटिन्थ्यो । खासमा यो व्यापार थिएन र थियो सेवा र दैनिकी चलाउने त्यतिबेलाको चलन । पछि काममा वा वस्तु विनिमयमा सहजताका लागि पैसाको आविष्कार भयो । पैसाको आविष्कार भएपछि मानव जीवन चलाउन निकै सहज भएको इतिहासका अध्ययताहरु बताउँछन् । जब पैसाको (मुद्रा) आविष्कार भयो तब देश तथा विदेशमा समेत व्यापार गर्न थालियो ।
यसरी विस्तारै वस्तुसित वस्तु साट्ने व्यापारबाट संसार अब पैसासित वस्तु साट्ने र नाफा कमाउने युगमा प्रवेश गर्यो । हुँदा हुँदा आजभोली त व्यापारका लागि संसारभर प्रतिष्पर्धा नै चलेको छ र खासमा व्यापार आज समाजमा, देशमा र विदेशमा समेत आफ्नो हैकम जमाउने माध्यम नै बन्न गएको छ । विश्व बजारमा खुलेका बहुराष्ट्रिय कम्पनीहरु यसका पछिल्ला उदाहरणहरु हुन् ।
यसरी व्यापारबाट पैसा कमाउने र आफ्नो प्रभाव विस्तार गर्ने आजको युगमा पश्चिम नेपालका पहाडि जिल्लाहरुबाट स्थानीय क्षेत्रमा उत्पादन भएका वा अन्यत्रबाट पनि वस्तु खरिद गरेर शहर तथा गाउँवस्तीमा बेच्दै जीवन गुजारा गरिरहेका रैथाने तथा साना लगानीका व्यापारीका पीडा र व्यथा के कस्ता छन् त ? यसपटक हामीले एकजना यस्तै व्यापारीसित यी र यस्तै बारेमा बुझ्ने प्रयास गरेका छौं ।
हुम्लाका रामशरण सञ्ज्याल पनि थुप्रै व्यापारीहरुका भीडमा व्यापार गरिरहेका देखिन्छन् । काठमाडौंका शहरमा गलैंचा, कम्बल, राडीपाखी बोकेर बेच्दै हिंडिरहेका व्यापारीमध्ये उनीपनि एकजना हुन् । यस्ता व्यापारीहरु कसैले स्टकोट, कसैले सिलाजित, घस्ने तेल, हिङ, गाईको घिऊ लगायत दैनिक उपभोग्य सामानहरु घरका ढोकामै पुगेर पुर्याउने गर्दै आएका छन् ।
यस्तो व्यापार गर्नेहरुमध्ये अधिकांश कर्णाली प्रदेशबाट आएका हुने समेत गरेका छन् । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, कालिकोट लगायतका जिल्लाबाट आएर काठमाडौँ लगायतका शहर बजारमा यसरी घुमन्ते व्यापार गरेर जीवन व्यतित गर्नेहरुको कथा–व्यथा भने कमै लेखिएको पाइन्छ । उनीहरुले परिवारसँग बिछोडिएर विदेश गएर अर्काको काम गरेर खानुभन्दा आफ्नै देशमा दुःख गर्नु नै राम्रो ठानेर यस्तो पेसा गरेको समेत बताउने गरेको पाइन्छ । तपाईं पनि काठमाडौंमा यसरी घुमेर समानहरु बेचिरहेका घुमन्ते व्यापारी देख्न सक्नु हुन्छ । त्यसरी काठमाडौंका सडक गल्ली र चोकचोकमा पुगेर व्यापार गर्ने मध्येका एक हुन्, हुम्लाका ३० वर्षीय रामशरण सञ्ज्याल ।
रामशरण जैसी सञ्ज्याल, उनको स्थायी घर हुम्लाको अदानचुली गाउँपालिका वडानम्बर–४ लौठी हो । उमेरले उकालो चढ्दै गर्दा रामशरण जिजीविषाको खोजीमा एसएलसी दिएर हिमाली जिल्ला हुम्लाबाट तराई झरे । कैलाली झरेका रामशरण गाउँकै साथीले विहे गरेको गाउँ कैलालीको घोडाघोडी नगरपालिका–४ गणेशपुरमा डेरा लिएर बस्न थाले । गाउँकै साथीको, साथी भनेपनि नाता पर्नेको ससुराली नजिक बसेका उनको साथीको ससुरालीमा समेत आवत जावत गरिरहनु पर्ने भो ।
साथीको ससुरालीमा आवत जावत गरिरहँदा साथीकी सालीसँग प्रेम सम्बन्ध गाँसिन पो पुग्यो । यता कैलालीमा बसेपनि हुम्लामै उनले ११ र १२ कक्षाको परिक्षा दिन गएर पनि १२ कक्षा समेत पास गरे । १२ पास गरेसँगै रामशरण आफ्नी प्रेमिका सपना न्यौपानेलाई जीवन साथीको रुपमा लिएर एकपल्ट हुम्ला पुगे । तराईमा जन्मे हुर्केकी सपनालाई हुम्ला पुग्न हम्मेहम्मे नै भयो तरपनि रामशरणको मायाले तान्दै तान्दै उनलाई हुम्लाको साविक कालिका गाविसको लौठीसम्म पुर्यायो । केहि समय घरमा बसेर उनीहरु फेरि कैलालीतिर नै हान्निए । श्रीमतीलाई कैलालीमा राखेर रामशरण गाउँघरका अरु मानिसहरुसँग कमाइ गर्न भनेर भारत पसे ।
भारतबाटै सुरु भयो घुमन्ते व्यापार :
कर्णालीका बस्तीहरुबाट कमाइ गर्न साधारण मानिसहरु भारत जानु एउटा सामान्य कुरा नै हो । भारतमा गाउँघरबाट गएका धेरै कम मानिसहरुले गर्ने व्यवसाय त्यही घुमन्ते व्यवसाय गर्ने सोच बनाए उनले । भारतको पिथौरागढलाई व्यापारको केन्द्र बनाएर रामशरणहरुले आफ्ना व्यापारिक गतिविधि गर्न थाले । गाउँका १५ जनाजति साथीभाई मिलेर व्यापार गर्न थाले । भारतका ठूला शहरबाट दुरदराजमा रहेका गाउँहरुमा कम्बल सिरक लगायतका अरु दैनिक उपभोग्य सरसमानहरु लिएर घर घर, टोल टोल, गाउँ गाउँ गएर बेच्न थाले ।
पिथौरागढमा कोठा लिएका उनीहहरु व्यापारको सिलसिलामा भारतका पौडी गढवाल, टिहरी गढवाल, नैनिताल, अल्मोडा, पिलिभित लगायत ठाउँहरुमा पुगे । व्यापार भन्नासाथ सधैंजसो र सबैजसो फाइदैफाइदा पनि कहाँ हुन्छ र ? व्यापार गरेको पहिलो महिना रामशरणलाई घाटा भयो । पहिलो महिना उनले जम्मा ६ सय भारु मात्रै कमाउन सके । पिथौरागढबाट १५ सयको समान किनेर हिंडेका उनी साथमा ६ सय मात्र बोकेर पिथौरागढ फिर्ता भए ।
हरेस नखाई लागिरहे, पाए सफलता :
व्यापार गरेर सबैले नाफा निकाल्दा रामशरणले भने घाटा व्यहोरे । सबैले व्यापार गरेर नाफा गरेको देखेर उनलाई डाहा भयो । आफूले नाफा गर्न नसकेकोमा भने उनलाई आफैसँग ग्लानी भयो तर उनले हरेस खाएनन् । कमाई गर्न भारत गएका गाउँका सबै फर्कंदा उनले भारतकै अल्मोडा शहरमा गएर दैनिक ज्यालादारी काम गरी भाडा जुटाएर घर आए । पछि फेरि अर्को पटक पिथौरागढ गएर पहिलेको घाटा असुल गर्ने गरि घुमन्ते व्यापार सुरु गरे । यसपटक रामशरणले पहिलो महिनामै २० हजार भारु नाफा गरे । यस्तो अनुभव सुनाउँदा उनी भन्छन्, ‘काम त गरेरै सिकिंदो रहेछ ।’ तीनवर्ष पिथौरागढलाई केन्द्र बनाएर त्यहीँ व्यापार गर्दा उनले कैलालीको घोडाघोडी गाउँपालिका–४ गणेशपुरमा ५ कट्ठा जमिन र एउटा एकतले घर समेत किने । अब उनका रमाइला दिनहरु सुरु भएजस्तै भयो उनलाई ।
पुरै नेपाल घुमिसके :
अर्काको देशमा मात्रै कति व्यापार गर्नु बरु आफ्नै देशमा गरौँ भन्ने भावना लिएर उनी त्यही व्यापार गर्न नेपाल आए । सबभन्दा पहिले राजधानी नजिकै काभ्रेको बनेपामा कोठा लिएर व्यापार गर्न थाले । उनको साथमा साथीहरु पनि थिए । बनेपामा कोठा लिएर उनले व्यापार गर्दै पूर्वका ओखलढुंगा र सोलुसल्लेरीसम्म पुगे । रामेछाप, दोलखा सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक लगायतका गाउँगाउँ, टोलटोल पुगे उनी गलैँचा र राडीपाखी बेच्न । पछि पश्चिमतिर लागे । तनहुँको दमौलीमा कोठा लिएर धादिङ्ग, गोर्खा, स्याङजा, कास्की, तनहुँ पर्वत, म्यादी र बाग्लुङ्ग सहित मुस्ताङसम्म उनी पुगे । सामान बोकेर बेच्दै हिंड्दा जहाँ रात पर्यो, त्यहीँ रात कटाउँदै बिहान उठेर व्यापारलाई निरन्तरता दिंदैगर्दा उनी बुटवल झरे । बुटवलमा कोठा लिएर लुम्बिनी अञ्चल र राप्ती अञ्चलका गाउँगाउँ चाहारे । मध्यपश्चिम र सुदुरपश्चिमका गाउँ त उनलाई पानी पंधेरो नै भइगए ।
काठमाडौं प्रवेशसँगै अर्को संघर्ष सुरु :
२०७६ सालमा रामशरण उनका दाईको छोराको आँखा जाँच गराउन काठमाडौँ आए । उनका दाई र उनीसँगै आए । दाईको छोरालाई आँखा जँचाउन आएको काठमाडौंमा त उनको दाईलाई पो समस्या देखियो । काठमाडौंमा उनको दाईको मृगौलामा समस्या देखियो । जेनतेन चलेको रामशरणको जीवनमा अर्को चोट थपियो । सानो आयस्रोत भएका उनलाई परिवार पाल्नुको साथै दाईको उपचार गर्नुपर्ने दायित्व समेत आइपर्यो तर पनि उनी कम्मर कसेर लागेका छन् ।
दाईको मृगौलामा समस्या देखिएपछि बिग्रेको मृगौलालाई डाइलाइसीस गर्नुपर्ने भयो । जेठो दाई मृगौलाकै रोगबाट बितेको सम्झना उनलाई ताजा भएर आयो तर उनी परे हरेस नखाने मान्छे । राजधानीको त्रिवि अन्तर्गत रहेको शिक्षण अस्पताल महाराजगञ्ज अनि वीर अस्पतालमा उनले दाईको मृगौलाको डाइलाइसीस गराए । आजभोलि बीएण्डबीमा दाईको मृगौलाको डाइलाइसिस गराइरहेका छन् । उनको दाईलाई भाउजूले नै मृगौला दिएर उनलाई मृगौला प्रत्यारोपण गर्ने तयारी भएको पनि उनले बताए ।
दाईलाई मृगौलामा समस्या देखिएपछि उनको सबै परिवार काठमाडौं कीर्तिपुरको मच्छेगाउँमा जग्गा भाडामा लिई गाई पालेर बसेका छन् भने उनी दिनभर घुमन्ते व्यापार गरेर बेलुका बास बस्न कीर्तिपुर पुग्ने गर्छन् । उनी, उनकी आमा, श्रीमती, छोराछोरी, मृगौला पीडित दाजू, भाउजू र दाजू भाउजूका छोराछोरी मिलेर गाई पालन गरेका छन् । बिहान बेलुका दुध दोएर खाने गर्छन् ।
घुमन्ते व्यापारीका दुःख :
हरेक काममा सुख र दुःख दुवै हुने गर्छन् ।
‘बस्ने मन थियो मायाको स्वरुममा
बित्यो जीवन यही लर्याङ लुरुङमा’
भन्ने गीत गुनगुनाउँदै काठमाडौंमा गलैँचा, फाइबर सिरक, तातो तन्ना, सिरकका खोल, महिलालाई चाहिने तातो कपडाहरु बेच्दै हिंड्ने रामशरणले यस कामका दौरान झेल्नु दुःख र समस्या झेलेका छन् । आफूले धेरै नाफा नलिएर समान घरको ढोकामै पुर्र्याउने दावी गरेका उनलाई स्याङ्जामा जाँदा यसरी समान बेच्न पाइँदैन भनेर लखेटिएको सम्झना ताजै रहेको छ । त्यहाँ उनलाई हथौडा लिएर मानिसहरु लखेट्न आए तर उनी नडराएर आफ्नो समान बेचिरहे । उनका अनुसार बजारमा सस्तोमा घरको ढोकामै समान पुर्याइदिंदा सटर राखेर महँगोमा सामान बेच्न पल्केका पसलेहरु डाहा गरेर हेर्ने गरेको उनको अनुभव रहेको छ । यसरी केही मानिस छुच्चा भएको अनुभव पनि उनले संगालेका छन् । व्यापार गरिखाने आफू जस्तालाई कसै कसैले ‘यसरी आउने मान्छे त चोर पनि हुन्छन्’ भनेर समेत भन्ने गरेकोप्रति भने उनले बडो गुनासो व्यक्त गरे ।
उमेर पुगेको समयमा एकपटक सरकारी जागिर खाऊँ न त भनेर नेपाल प्रहरीमा भर्ना हुन नेपालगञ्ज गएको समयमा हातखुट्टामा रहेका उनका मुसा देखेर प्रहरीले भर्ती नगरेपछि ‘मेरो भागमा सरकारी जागिर नै लेखेको रहेनछ’ भन्ने लागेर व्यापारमा लागेका उनले भने आफ्नो शरीरमा आएका मुसाहरुलाई पछि आफैले आगोले डामेर निको बनाएछन् ।
घुमन्ते व्यापार गरेर मासिक २० देखि २५ हजारसम्म कमाइरहेका हुम्लाका रामशरणलाई यही काम गरेर परिवार पाल्न सक्छु भन्ने आत्मविश्वास भने रहेको छ । उनी भन्छन्, ‘गरेपछि नहुने केहि छैन, चोर्न भएन, ढाँट्न भएन र छल्न भएन तर आफनै देशमा गरिखान लाज पनि मान्नु भएन।’ विदेशको तातो बालुवामा टेक्दै अर्काको देशमा हेपिएर चेपिएर पनि कमाइने यति नै त होला भन्दै उनले अगाडि भने, ‘छिमेकी देश भारतबाट आएर मानिसहरु दैनिक हजारौं रुपैयाँ कमाएर जान्छन्, तर हाम्रा देशका युवाहरु आफ्नो देशमा कमाइ नदेखेर विदेश गइरहेका छन् ।’ आफ्नै देशमा लाज नमानेर काम गर्न युवाहरुलाई रामशरणको सुझाव रहेको छ ।
अनुभव सुनाउँदा सुनाउँदै ‘दाइकी सालीले’ बोलको गीत गुनागुनाउँदै रामशरण अगाडि बढे । ‘अईई क्या भन्दा हऊ दाजै यैथई ता हो मान्ठको जीन्दगी, गरिखानु भन्दा मरिजानु नाम्रो हुँदो हो’ भन्दै उनले फेरि अर्को गीत गाए,
‘गाउँमा बस्दा बिगारिन् दाईकी सालीले
शहर बस्दा बिगारिन् फेसबुकवालीले’
यही गीत गुण गुनाउदै रामशरण अर्को गल्ली छिरे। तपाइले उनलाई देख्नुभयो भने उनको समान किनुदिनुहोला है।