• असार २५ २०८१, सोमबार

अचम्म : शिक्षकले बिस्कुट खाए, विद्यार्थीले खित्का छोडेर हाँसे

पुष २६ २०७८, सोमबार

घोराही, २६ पुस ।
मुख भित्र बिस्कुट पसिसक्दा शिक्षक कृष्ण गिरीको चेहरा विजयको खुशीले धपक्कै बलेको देखिन्थ्यो । मञ्चमा गिरीले बिस्कुट चपाउँदै गर्दा दर्शकदिर्घाका विद्यार्थी भने खित्का छोडेर हाँसिरहेका थिए । उनीहरु बटारिँदै खित् खित् खित् गरी हाँसिरहँदा मञ्चका अरु शिक्षक बिस्कुट खान मरिमेटी लागेका थिए ।

मेरील्याण्ड मेरील्याण्ड पब्लिक एकेडेमी घोराही–१३ सेवारको प्रथम वार्षिक उत्सवका अवसरमा विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । शिक्षक शिक्षिकालाई भने खेलमा प्रतिस्पर्धा गराइयो । त्यसमा शिक्षकको बिस्कुट फन कार्यक्रम थियो । उनीहरुले बिस्कुट खानुपर्दथ्यो ।

लहरै उभिन लगाइयो । अगाडिको बेञ्चमा बिस्कुटका पाना राखियो । सञ्चालक समितिका सदस्य राजेन्द्रकुमार श्रेष्ठले वान टु थ्रि भनेर जनाउ दिनुभयो । सबै शिक्षकले पछिल्तीर लत्किएर एक एक वटा बिस्कुट निधारमा अड्याउनु भयो । त्यसपछि सुस्त सुस्त गर्दै गालाहुँदै बिस्कुट मुखतिर झार्न थाल्नुभयोे । विजेता हुनका लागि घर्काउँदै घर्काउँदै ल्याउनुपर्दथ्यो हातले छुन मिल्दैन्थ्यो ।

हातले छुन नमिल्ने भएकाले पुरै ध्यान खस्दै गरेको बिस्कुटमा लगाउनु पर्दथ्यो । त्यसरी बुद्धिलगाई बिस्कुट मुखमा हाल्ने दोस्रोमा जितबहादुर चौधरी, तेस्रो दिवाकर बुढा र चौथोमा श्रीकान्त डाँगी बन्नुभयो । उहाँहरु बाहेक हतार गर्नाले केहिका बिस्कुट भुइँमा खसे । केहिले अलि ढिलो मुखमा हाल्नुभयो । अतिथि दिर्घाका अभिवावक आँशु छोडीछोडी हाँसिरेका थिए । त्यो रोमाञ्चक वातावरणमा शिक्षकहरुलाई बिस्कुटमा ध्यान केन्द्रित गर्नु अर्को चुनौतिको विषय थियो ।

त्यससँगै महिला शिक्षक पनि खेलाडी बने । सबैले एक एक वटा बेलुन मुखमा च्यापे । बच्चाहरुले त्यसलाई आफैले खेलेको महशुस गरेर हुनुपर्छ हुटिङ गर्न थालिहाले । बेलुन हल्का फुल्याउनुभयो । त्यस बेलासम्म हरेकका अगाडिको बेञ्चमा कागजका कपहरु राखिएको थियो । तिनै कागजका कपलाई चारतला सम्मको बनाएपछि मात्रै पिरामिड हुन्थ्यो र जित घोषणा गरिन्थ्यो ।

थोरै सन्को चल्दा पनि हावाले गल्र्याम्मै ढल्थे । तिनै कप भुइँसम्मै असरल्ल छरिन्थे । तिनलाई टिप्न अर्को सहयोगी खोज्नु पर्दथ्यो । त्यति गर्दासम्म ढिलो भइसक्थ्यो । तिनलाई उखेरेर फेरि पिरामिड बनाउँथे यति धेरै मेहनत गर्दापनि कोहि थाकेनन् । त्यहि प्रतिस्पर्धाकै क्रममा पुनम झाँक्री मगरले पिरामिड बनाई देखाउनुभयो । सञ्चालकले उहाँलाई प्रथम घोषणा गर्नुभयो । अरु पनि निकै जोडले पिरामिड बनाउन लागे । लगत्तै सिर्जना भण्डारीले दोस्रो र सुशिला चौधरीले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरु वार्षिक उत्सवका दिन पुरस्कृत हुनुभयो ।

यी खेलहरुले विद्यार्थीलाई आफूसँगसँगै खेल्दै सिक्दै गर्न सजिलो बनाउँथ्यो । लाठि लग्न नपाईने कक्षामा उत्सुकता जगाउन सजिलो हुन्थ्यो । शिक्षकहरुको जाँगरको उत्कृष्टता देखाउँथ्यो । बुझ्दै नबुझ्ने बच्चालाई पटक पटक प्रयास गरेर सिर्काइ छोड्छन् भन्ने पनि सन्देश दिन्थ्यो । खेलको मज्जा थियो नै र सन्देश पनि अनेक थिए । हरेक उपायका बारेमा सोच्नुपर्छ भन्ने सिकाउँथे । शिक्षकले गर्नुपर्ने मेहनतको प्रशस्त उदाहरण थियो । विद्यार्थी पनि खित्का छोडी हाँसे । खेल सकिंदा सम्म धेरै अभिभावकले मोबाईलमा भिडियो कैद गरे, नहाँस्ने भने कोही थिएन ।