२०७८ पुष २५ ।
काठमाडौं ।
पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता मान्ने कि नमान्ने बहस नेपालमा आज पनि चलिरहेको छ । एकथरीले उनलाई राष्ट्रपिता वा राष्ट्र निर्माता नै मानेर पूजा गर्दै आएका छन् भने अर्काथरीले पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरेकोलाई स्वीकार त गर्दछन् तर उनको शासन र उनीहरुपछिका समेत शाह वंशीय राणाहरुको राज्यसत्ताले नेपालका आदिवासी तथा दलितहरु जो उनको शासनबाट तिरस्कारमा पारिएको र उनीहरुमाथी दमन पनि गरिएको भन्दै उनलाई राष्ट्रनिर्माता नमान्ने घोषणा गरेका छन् ।
पासाङ शेर्पा लगायत केही जनजाति नेताहरुले त कीर्तिपुरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा प्रत्यक वर्ष उनको जन्मजयनतीको अवसरमा थुक्ने समेत गर्दै आएका छन् । तर नेपालका धेरै इतिहासविद तथा समाजशास्त्रीहरुले भने पृथ्वीनारायण शाहको शालिकमा त्यसरी थुकेर अपमान गर्नुको साटो उनी र उनको शासनप्रतिको बुझाई के हो त्यत्तिमा सिमित रहिदिनु पर्ने कुरामा जोड दिंदै आएका छन् ।
अर्काथरी विद्वानहरु भने इतिहासको द्वन्द्ववादी अध्ययन गर्नुपर्ने र पृग्वीनारायण शाहले नेपालको भूगोलको एकीकरण गरेको कुरा सत्य भएको तर उनी र उनी भन्दा पछिका शासनहरुले उनीद्वारा कब्जा गरिएका अन्य समुदायमाथी भने दमन गरिएको कुरा साँचो भएकोले यसैगरि नै यो विषयलाई बुझ्नु पर्ने धारणा राख्दछन् । तर यो कुरा मान्न असमर्थहरुले भने पृथ्वीनारायणको नेपालको भूगोल एकीकरणको अभियानलाई पूराका पूरा समर्थन गर्दै उनलाई नेपालको एकीकरणकर्ता वा राष्ट्रनिर्माता मान्नु पर्नेमा जोड दिंदै आएका छन् ।
यसैबीच संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्नु पर्नेमा जोड दिएको छ । मोर्चाले पृथ्वीनारयण शाहको ३००औं जन्मजयन्तीमा सार्वजनिक विदा माग गरेको छ । उसले उनको जन्मदिनमा विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
भर्खर मात्रै काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर सो मोर्चाले नेपालको मौलिक धर्म, संस्कृति र इतिहासलाई मेटाउन देशीविदेशी तत्वहरु लागेका कारण पृथ्वी जयन्तीमा विदा नदिइ सरकारले लगत गरेको आरोप समेत लगाएको छ । मोर्चाका संयोजक तारानाथ लुइंटेलले २२से/२४से गण राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावनी पनि दिए ।
उनले भर्खरै सम्पन्न भएको नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले वैदिक सनातन धर्म विरुद्ध गरेको आपत्तिजनक निर्णय बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुलाई सह्य नहुने बताए । उनले माओवादी अध्यक्ष प्रचण्डलाई खबरदारी पनि गरे । उनले भने,‘प्रचण्ड हामीलाई होम, पुराण, यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभीमानमाथि ठेस पुगेको छ, यसको दुष्परिणमको भागिदार हुन तयार हुनुहोस् ।’
अध्यक्ष लुइंटेलले माओवादी महाधिवेशनमा कार्यकर्तालाई धर्म र संस्कृति विरुद्ध कासन गर्ने प्रचण्ड र उनको पार्ट देशका निम्ति घातक भएको आरोप लगाए ।
लुइंटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देशद्रोही भएको बताए ।
मोर्चाका सह-अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधिन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तीलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।
पत्रकार सम्मेलनमा मोर्चाका प्रवक्ता सिर्जना वाग्लेले अहिलेको सरकारलाई बहिरोको संज्ञा दिइन् । उनले भनिन्,‘जनताले सडकबाट समेत बडामहाराजधिराज पृथ्वीनारणको सम्मानमा राष्ट्रिय एकता दिवसका दिन विदा तथा जन्मजयन्ती उत्सवकारुपमा मनाउन माग गर्दा पनि सुन्दैन, बरु गौरवशाली इतिहास मेटाउन खेज्दै छन्, तिनीहरुलाई जनताले छाड्ने छैनन् ।’
उनले अगाडि भनिन्,‘हाम्रो स्वाभिमानी इतिहास मेटाउन खोज्नेहरुको पनि अस्तित्व मेटाउने दिन नआवोस् ।’ पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका अध्यक्ष हरिबोल भट्टराई, मोर्चाका राष्ट्रिय संयोजक द्वय शेखरजंग रायमाझी, शोभाराम थापा, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, मोर्चाका सहमहामन्त्री द्वय श्यामसुन्दर बलामी र केशव ढुङ्गाना लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।