काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भर्खरै आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । उसले उक्त महाधिवेनबाट नयाँ केन्द्रीय समिति सदस्यहरू चयन गरिसकेको छ । केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ भने बाँकी अन्य पदाधिकारी चयन हुन बाँकी नै छ ।
त्यसका लागि आज (आइतबार) बोलाइएको बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डलगायत पार्टीका शीर्ष नेताहरूमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।
तथापि पदाधिकारी चयनमा आन्तरिक विवाद बल्झिएपछि आज बोलाइएको बैठक स्थगित गरिएको स्रोत बताउँछ । स्रोतका अनुसार कोरोना निहुँ भएपनि खासमा पदाधिकारी चयनमा समस्या देखिएपछि बैठक स्थगन हुन पुगेको हो । अध्यक्ष पछिको कार्यकारी पद महासचिवका लागि केही नेताहरू आकांक्षी देखिएका छन् ।
आकांक्षीलाई व्यवस्थापन गर्न प्रचण्डलाई निकै मुस्किल परेको नेताहरू बताउँछन् । लोकतन्त्रविपरीत प्रचण्डले आफ्नो तजबिजी निर्णयबाट केन्द्रीय सदस्यहरू चयन गरेका छन् । उनले ठीक त्यसरी नै अन्य पदाधिकारी चयन गर्ने बताए पनि त्यसो हुन नसकेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्य बताउँछन् ।
महाधिवेशन अगावै केन्द्रीय कमिटी बैठक बसेको थियो । सो बैठकले गरेको निर्णयअनुसार २९९ केन्द्रीय कमिटी निर्वाचित गरेर १५ पदाधिकारी चयन गर्नेछ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने निर्णय गरेको थियो ।
जसअनुसार अध्यक्ष र केन्द्रीय सदस्य चयन भैसकेका छन् । अध्यक्षबाहेक अन्य पदमा बहस भएको देखिँदैन । तर, महासचिवबारे पेचिला बसस भैरहेका छन् । आजसम्म पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर‘ र वर्षमान पुन ‘अनन्त’ महासचिवका आकांक्षी छन् । यसअघि अर्थ तथा योजना विभागको प्रमुखसमेत रहेका वर्षमान महाधिवेशनमा उपस्थित हुन सकेका थिएनन् । उनी हाल उपचारका लागि चीनमा भएपनि तत्काल फर्किने बताइएको छ ।
वर्षमान उपचारकै क्रममा स्वदेश आउन नपाएपछि महासचिवका लागि लबिङ गर्ने मौका पाउन भने सकेका छैनन् । उनको पक्षमा लविङ गर्ने नेताहरूको पनि अभाव देखिएको बुझिएको छ । उपचारकै क्रममा अध्यक्ष प्रचण्डले टेलिफोनमार्फत वर्षमानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । गत ९ गते टेलिफोनमार्फत प्रचण्डले स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा नै आराम गर्न सुझाव दिएका थिए । वर्षमानले प्रचण्डसँग आफू महासचिवको दाबेदार भएको स्मरण गराएको एक नेताले बताएका थिए ।
उनको स्वास्थ्यमा सुधार नआएपछि महाधिवेशनमा उपस्थित हुन सकेनन् । उनको अनुपस्थितिले महासचिवमा कमजोर बनेका छन् । महासचिवमा जनार्दनको पनि दाबी छ । यी दुवै माओवादी सशस्त्र जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर थिए । वर्षमान, जनार्दनका अगाडि कमजोर देखिएका छन् । उनी लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छन् । लुम्बिनी प्रदेशको मत विभाजन हुने देखिन्छ । किनकि महराले पनि महासचिवमा दाबी रहेका छन् । यसो हुँदा वर्षमान थप कमजोर हुने लुम्बिनी प्रदेशका एक प्रतिनिधिले बताए ।
त्यस्तै जनार्दन कर्णाली प्रदेशको प्रतिनिधित्व गर्छन् । कर्णालीबाट उनको एकल उपस्थिति छ । उनलाई सूदुरपश्चिमको पनि साथ रहेको बताइन्छ । महाधिवेशनको उद्घाटन कार्यक्रम पनि उनैले सञ्चालन गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्षमा सर्वसम्मत हुने देखिए पनि महासचिवका लागि केही नेता आकांक्षी देखिएकोले निर्वाचन हुनसक्ने आकलन गरिएको छ । तर, अध्यक्ष प्रचण्ड अहिले पनि निर्वाचन नगर्ने पक्षमा छन् । उनले सहमतिका आधारमा नै महासचिवको टुंगो लगाउने बताउँदै आएका छन् ।
यसका लागि उनले सहमति जुटाउन आन्तरिक गृहकार्यमा लागेको बताइएको छ । सहमति नभएसम्म महासचिव पद आफ्नो खल्तीबाट नझिक्ने देखिन्छ । यद्यपि प्रचण्डले आफ्नो तजबिजीका आधारमा महासचिव चयन गरेमा कसको पोल्टामा पर्छ, यसै भन्न सकिँदैन । तर निर्वाचन भएमा जुन नेताको पक्षमा बलियो मत छ उसैको पोल्टामा महासचिव पद पर्नेछ ।
माओवादी केन्द्रले पदाधिकारीको संख्या १५ पुर्याएपछि हालका स्थायी कमिटी सदस्यहरू सबै पदाधिकारीमा अट्ने भएका छन् । माओवादी केन्द्र र एमालेबीच एकतापछि बनेको नेकपा (माओवादी केन्द्र)बाट १९ स्थायी कमिटी र २ आमन्त्रित सदस्य थिए ।