• मंसिर २० २०८१, बिहीबार

‘प्रतिरोध जनअधिकार आन्दोलन’ ले सांस्कृतिक सभा गर्दै

पुष २५ २०७८, आईतवार

‘प्रतिरोध जनअधिकार आन्दोलनले प्रतिरोध सांस्कृतिक यात्रा-२०७८ अन्तरगत विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । आयोजकले यो कार्यक्रमलाई सांस्कृतिक सभा भनेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा हुने कार्यक्रममा कविता वाचन, विविध सांस्कृतिक प्रस्तुति तथा अतिथि वक्ताहरुले विविध विषयमा प्रशिक्षण मन्तव्य राख्नेछन् । कार्यक्रम २०७८ पुष २७ गते दिउसो २ः३० बजेबाट सुरु हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि  स्थानीय नागरिक तथा संस्कृतिकर्मीहरुलाई अपील गरिएको अभियन्ता प्रमोद धितालले जानकारी दिए ।

सो अभियानले यसअघि ‘प्रारम्भिक अवधारणा पत्र–२०७८’ सार्वजनिक गरेको थियो । सो अवधारणा पत्रमा ‘व्यवस्था बदल्नका लागि विचारधारात्मक संघर्षलाई केन्द्रमा राखेर नयाँ समाजवादी आन्दोलनको आधार तयार पार्ने, संविधानमा उल्लेखित मौलिक हकहरु र कानुनद्वारा व्यवस्था गरिएका जनअधिकारहरूको कार्यान्वयनका लागि विभिन्न दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, वर्गीय, क्षेत्रीय, लैंगिक तथा यौनजन्य, जातीय, जातप्रथाजन्य र विभिन्न सामाजिक–सांस्कृतिक शोषण, उत्पीडन, विभेद, अत्याचार र हिंसाका विरुद्ध एकीकृत र संगठित आन्दोलन निर्माण गर्ने, जनजाति, आदिवासी, राज्यद्वारा भाषिक–सांस्कृतिक उत्पीडनमा पारिएका समुदाय, मधेसी लगायत क्षेत्रीय उत्पीडनमा पारिएका समुदाय र सबै प्रकारका सीमान्तकृतहरूको अधिकार स्थापना र आत्मसम्मानका पक्षमा संघर्ष गर्ने, पारिवारिक लोकतन्त्र तथा घरेलु श्रमका बारेमा सार्वजनिक मञ्चहरूमा प्राथमिकताका साथ बहस सञ्चालन गर्ने’ लगायतका ३१ वटा उद्धेश्य उल्लेख गरिएको छ ।

अवधारणा पत्रमा जनताको वास्तविक लोकतन्त्र कागजमा मात्र नभएर जीवन व्यवहारमा स्थापित गर्न र जनअधिकारको क्षेत्रमा सम्पूर्ण लगनका साथ क्रियाशील हुन विचार, संगठन, नेतृत्व, संस्कृति, आचरण र कार्यक्रमिक योजनाहरूमा नवीन पहलको आवश्यकतालाई केन्द्रमा राखेर प्रगतिशील, वामपन्थी र जनपक्षधर राजनीतिकर्मीहरूको पहलमा ‘प्रतिरोध जनअधिकार आन्दोलन’ नामक जनसंगठन स्थापना गरिएको पनि अवधारणा पत्रमा उल्लेख गरिएको छ ।