काठमाडौं । यस वर्ष नेपालको आर्थिक बृद्धि दर ७ प्रतिशत नपुग्ने देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बेमौसमी वर्षाका कारण यो वर्षको धान उत्पादनमा कमी आएपछि सोचे अनुरुपको आर्थिक बृद्धि नहुने भएको गभर्नर अधिकारीको भनाइ छ।
धान उत्पादन घट्नुका कारण चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने कुरा आइतबार सार्वजनिक लेखा समितिद्वारा आयोजित देशको वर्तमान आर्थिक अवस्था विषयक छलफलमा गभर्नर अधिकारीले बताएका हुन् । अधिकारीले आन्तरिक उत्पादनमा कमी हुनुका कारण निर्यातले सन्तुलन कायम गर्न नसके पनि उच्च आयातका कारण आर्थिक सूचकमा दबाब भएकाले त्यसको सकारात्मक नतिजा आउन सक्ने विश्वास भने व्यक्त गरे ।
उनले उच्च आयातको प्रभावले नै तरलता ल्याएको बताए । उनका अनुसार ‘उच्च आयातको प्रभाव सञ्चिति, शोधनान्तर, चालु खाता र तरलतामा पनि परिरहेको छ ।’ अहिले अर्थतन्त्रमा उच्च आयातको असर नै सबैभन्दा ठूलो भएको उनको ठहर छ ।
बैंकहरूले आयात फाइनान्समा कर्जा प्रवाह गरेको रेमिट्यान्सबाट आएको रकम त्यसबाट बाहिरिँदा समस्या भएको गभर्नर अधिकारीको भनाइ छ । सार्वजनिक ऋण भार राज्यलाई चुनौती बन्दै गएको पनि उनले बताए । यसका लागि चालु खर्चमा पर्दै गएको दबाबलाई कम गर्न सार्वजनिक ऋणको भार कम गर्नु जरुरी छ ।
चालु आवमा सरकारले राष्ट्र ऋण २३९ अर्ब उठाउने भनेको हालसम्म ६ अर्ब मात्रै उठाएको र अब ६ महिनामा उक्त ऋण उठाउँदा तरलता र ब्याजदरमा थप समस्या हुनसक्ने छ ।
विगतमा तरलता समस्या सिजनल भए पनि यो वर्ष सुरुआतबाटै निरन्तर रहेको छ । यसले आउँदा दिनमा ब्याजदर बढ्न सक्ने छ । तर साना ऋणीलाई आधार ब्याजदरमा २ प्रतिशत मात्रै प्रिमियम लिन पाउने व्यवस्था कायमै राखिने छ ।