• मंसिर ११ २०८१, मंगलवार

गोल ब्रीफिङ : प्रचण्ड कोरोना संक्रमित, देउवा आइसोलेसनमा, मन्त्री आलेको वाहवाही ! विवादास्पद रेस्टुरेन्ट निर्माणमा रोक

पुष २४ २०७८, शनिबार

काठमाडौं । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम र त्यसले पारेको प्रभावको बारेमा गोल ब्रीफिङ गरिन्छ । यसका साथै सामाजिक, आर्थिक, कुटनीतिक, भ्रष्टाचार न्यूनीकरण, सुशासन र वैचारिक बहसलगायतका थुप्रै पक्ष पनि ब्रीफिङमा समेटिन्छन् । विशेष त दिनभरीका घटना परिघटनाको चियोचर्चा नै गोल ब्रीफिङका अर्थपूर्ण सामाग्री हुन् ।

प्रचण्ड कोरोना संक्रमित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (शुक्रबार) साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण भएसँगै उनी अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन उनको निजी सचिवालयले आग्रह गरेको छ । प्रचण्डले दुई दिनअघि नै भेटघाट बन्द गरेका थिए ।

भर्खरै सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीका केही नेताहरू कोरोना संक्रमित भएका छन् । केही नेता कार्यकर्ता अस्वस्थ छन् । माओवादी केन्द्रले पुस ११ देखि १८ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा महाधिवेशन सम्पन्न गरेको छ ।

उसले देशभरबाट १७ सय ४२ जना प्रतिनिधि सहभागी गराएको थियो । माओवादीको राष्ट्रिय महाधिवेशनमा स्वास्थ्यका दृष्टिले महँगो सावित भएको छ । ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरू जुटेका थिए ।

महाधिवेशनको बेला देशभर कोरोना संक्रमण बढ्दै थियो । नयाँ भेरियन्ट ओमिक्रोम समेत छिटपुट रुपमा देखा परिसकेको थियो । माओवादी केन्द्रले पर्याप्त स्वास्थ्य मापदण्ड पालना गर्न नसक्दा अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै भोलि २५ गते (आइतबार) अध्यक्षबाहेका अन्य नयाँ पदाधिकारी चयनको कार्यतालिका पनि अनिश्चित कालका लागि स्थगन गरिएको छ ।

देउवा आइसोलेसनमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ ।

हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको प्रचण्डसँग भेटघाट भएको थियो । स्वास्थ्य मापदण्डअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयले जनाएको छ । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण पश्चात् देउवा सार्वजनिक कार्यक्रममा सरिक हुने बताइएको छ ।

यस्तै बिहीबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्ट प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

मन्त्री आलेको वाहवाही ! विवादास्पद रेस्टुरेन्ट निर्माणमा रोक

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहको निर्माणाधीन भौतिक संरचना हटाइएको छ । संंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तीन दिनको समय दिएका थिए । उक्त समयसीमाको एकदिन अगावै उसले आफूले निर्माण गर्न लागेको संरचना हटाएको हो ।

भोलि (आइतबार) १२ बजेभित्र ती संरचना हटाउन मन्त्री आलेले निर्देशन दिएका थिए । उनले निर्देशन दिएको भोलिपल्टै बतास समूहले विवादास्पद रेस्टुरेन्ट निर्माणाधीन भौतिक संरचना पूर्णरूपमा भत्काएको छ । यद्यपि उसले उक्त संरचना नभत्काए आफैले भत्काइदिने चेतावनीसमेत दिएका थिए ।

मन्त्री आलेले नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

मन्त्री आलेले बतास समूहको नारायणहिटी संग्रालयमा निर्माणाधीन विवादास्पद रेस्टुरेन्ट निर्माणमा रोक लगाएसँगै उनको चर्चैचर्चा चलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार हुँदा प्रेमबहादुर आले वन तथा वातावरण मन्त्री थिए । उक्त मन्त्रालयमा बहाल हुँदा विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनले चर्को आलोचना खेप्नु परेको थियो ।