कोभिड–१९ को नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोन संक्रमित बिरामीको संख्या बढ्दै गएपछि सरकारले यसको फैलावट रोक्न रोकथामका उपायहरुलाई कडाइका साथ लागु गर्न निर्देशन जारी गरेको छ ।
हाल बढ्दै गएका बिरामी संख्याको अनुपातलाई ख्याल गर्दा माघको दोस्रो हप्तादेखि यसले कडा र व्यापक रुप लिनसक्ने देखिएको अनुमान गरिएको छ । यसले देशमा संभवतः तेस्रो लहर ल्याउन सक्ने आशंका बढी गरिएको छ ।
यसको आक्रामक र संक्रामक प्रकृतिलाई ख्याल गरेर समयमै रोकथामका सबै उपाय कडाइका साथ पालना गरियो भने यो भेरियन्ट फैलिनु पूर्व यसको फैलावटमा रोकथाम ल्याई स्वास्थ्य क्षति न्युनीकरण गर्न सकिने छ । यसका लागि हालसम्म जनतामा विकास भएको स्वास्थ्य चेतना र सरकारी निर्देशन तथा सतर्कतालाई भरपुर उपयोग गरिनु जरुरी छ ।
सुषुप्त अवस्थामा रहेको कोभिड–१९ ले चीसो मौसममा निकै उग्र रुप लिने र संक्रमणको आयामलाई पनि निकै व्यापक बनाउने गरिरहेको छ । विगतका दुई वर्षका अनुभवले पनि हामीहरुलाई यस्तो स्पष्ट आभाष दिलाएको छ । यो वर्ष पौष महिनामा बाक्लिदै गएको ओमिक्रोनको संक्रमणलाई ख्याल गरेर माघ महिनामा यो उत्कर्षमा पुग्ने भनी गरिएको आँकलन सही साबित हुन सक्छ ।
यो वर्षमा अमेरिका, युरोप, अष्ट्रेलिया लगायत एशियाका कतिपय विकसित देशहरुमा यो नयाँ प्रकृतिको महामारीका कारण लकडाउन र स्वास्थ्य संकटकाल लागु गरिएको पनि छ । नेपाल पनि यो भेरियन्टबाट अबका दिनमा अछुतो रहन सकेको छैन र बरु संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । संभवतः नेपालमा पनि स्वास्थ्य निषेधाज्ञा वा लकडाउन लगाउनु पर्ने हुन सक्छ ।
अहिलेसम्म देशभित्रको आवागमन निर्वाध रुपमा चलिरहेका छन् भने बाह्य आवागमनमा पनि रोक लगाइएको छैन । यसको अर्थ अहिले नै रोक लगाउनु पर्छ भन्ने पनि होइन, यसको विपरीत रोक लगाउनै हुँदैन भन्ने पनि होइन । बरु उच्च सतर्कता अपनाउनु जरुरी छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु निकै ठूलो बुद्धिमानी कुरा हो । यसका लागि स्वास्थ्य सावधानी अपनाउनु सबैभन्दा उन्नत र उत्तम तरिका हो । ओमिक्रोनको संक्रामक क्षितिजीय फैलावटलाई लिएर विश्व स्वास्थ्य संगठनले पनि विश्वका सबै देशहरुलाई लापरवाही नगर्न चेतावनी दिइरहेको छ ।
यसबाट बच्नका लागि विकसित देशहरुमा बुस्टर डोजको अभियानहरु सञ्चालन भैरहेको छ भने नेपालमा पनि यसको चर्चा चलिरहेको छ । तर विश्व स्वास्थ्य संगठनको बुस्टर डोजबारे आफ्नो धारणा भने भिन्न रुपमा अभिव्यक्त गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा रहेका मानव जनसंख्यामा समान रुपमा खोप वितरण नगरिँदासम्म कोरोना लगायतका कुनै पनि महामारी रोकिने वा नियन्त्रित हुने छैनन् । किनकि अहिले फैलिएको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलिएको र अमेरिका तथा युरोपजस्ता विकसित देश र महादेशहरुमा फैलिइरहेको छ ।
यी देशमा खोपको मात्रा लगाइसकेर बुस्टर डोज लगाउँदा पनि माहामारीको प्रकोप न्युनीकरण हुन सकेन । अर्कोतिर, अफ्रिकामा सबै देशहरुमा खोपको पहिलो मात्रा पनि पुग्न सकिरहेको छैन । यसको अर्थ हो, अबका दिनमा एउटा कुनै सम्पन्न देशमात्र एक्लै सुरक्षा अपनाएर बाँच्न सक्ने अबस्था छैन । त्यसैले पनि संसारभरका देश तथा जनतामा खोपको समान वितरण जरुरी हुन आएको छ ।
नेपालको सन्दर्भमा अहिले भएको खोपको मात्रालाई देशव्यापी समान रुपमा वितरण गरिनु जरुरी छ । यसका साथै, आम जनताले सही किसिमले मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने तथा भिडभाड नगर्ने कुरामा संयमता र नियमितता अपनाउनु जरुरी छ ।
नेपाल–भारत सीमा इलाकामा होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गरिनुका साथै संघीयदेखि प्रादेशिक तथा स्थानीय सरकारसम्मले आआफ्ना क्वारेन्टाइन, आइसोलेशन निर्माणसँगै सम्बन्धित निकाय मातहतमा रहेका अस्पताल तथा नर्सिङ होमहरुमा कोभिड वार्डको व्यवस्था गर्न/गराउन समयमै ध्यान पुर्याउनु पर्छ ।
सबैमा स्मरण हुनु जरुरी छ कि महामारी एक्लै आउँदैन । यसले आफूसँग ठूलो विपत्ति लिएर आउँछ । जन, धनको ठूलो क्षति गराउँछ । महामारीले ल्याउँदै गरेको यस्तो विपत्ति रोक्न सबैले समयमै उच्च सतर्कता अपनाउनु जरुरी छ ।