काठमाडौँ । हामी कुनै सरकारी वा अन्य कार्यालयहरुमा जाँदा त्यहाँ चिटिक्क परेका कपडा लगाएर ठाँटिएर बसेका हाकिमहरु देख्ने गर्छौं । कुनै कुनै कार्यालयमा त झन् कार्यालयलाई तामझामसँग सजाइएको हुन्छ । र हाकिमहरु बस्ने मेचहरु पनि यति आकर्षक लाग्दा हुन्छन् कि कसैकसैलाई त ती छुन मात्र पाएपनि हुँदो हो भन्ने समेत हुने गर्छ ।
झट्ट हेर्दा त्यसरी कार्यालयहरुमा बसेका हाकिमहरु आजै र यतिकै त्यो पदमा पुगेका होलान् भन्ने लाग्न पनि सक्छ तर त्यसरी त्यहाँ र त्यो पदमा कुनै पनि मानिस सहजै पुगेको भने हुँदैन । एकाध केही समयको लागि कसैको निगाहामा भएको नियुक्ति भने अलग हो । मानिस जति ठूलो पदमा पुगेको देखिन्छ नि, त्यो पदमा पुग्न उसले उत्तिकै संघर्ष गरेको भने अवश्य हुन्छ । झट्ट हेर्दा कुनै मानिस आफ्नो पदमा यत्तिकै गएर बसेको होला जस्तो लागेपनि अथवा कुनै धन्याढ्य पनि पहिलेदेखि नै यस्तै धनि थियो कि भन्ने लागेपनि गहिरोगरी हेर्ने हो भने त्यस्तो हुँदैन । मानिसहरु आफूले गरेको अथक संघर्षको प्रतिफलमा अहिलेको परिणाम पाएका हुन्छन् । ‘जसले संघर्ष गर्यो, ऊ अघि बढ्यो’ भने झैं संघर्ष गरेर वा कडा परिश्रम गरेर नै कुनैपनि मानिस सफल हुने हो ।
यस्तै कडा संघर्ष गरेर एकजना मजदूर हाकिम भएको घटना बाहिर आएको छ । भारतमा रेल स्टेसनमा भारी बोकेर काम गरिरहेका एक साधारण मजदूर पछि गएर त्यही रेलस्टेसनका हाकिम बनेको कुराले संघर्षशील तपाईंलाई पक्कै पनि थप प्रेरणा मिल्नेछ । हो, भारतको केरला राज्यको रेलस्टेसनमा साधारण भरियाको काम गरिरहेका एक मानिस आफ्नो अथक संघर्षको कारण अहिले त्यही रेलस्टेशनको हाकिम बनेका छन् ।
गरिब परिवारमा जन्मिएका मानिस जसले भारी बोकेर जीवन गुजारे :
जिन्दगीमा सफल हुनलाई के के गर्नुपर्छ के के ? आफूले चाहेको चीज वस्तु पाउन पनि मानिस सानो तिनो प्रयासले सफल हुनसक्छ भन्ने छैन । सफल भएका मानिसहरुले पनि आफूले पाएको सफलता पहिले गरेका अनेक कहानी र दुःखहरु सुनाउने र बताउने गरेको हामी भेटाउँछौं । यस्तै अथक संघर्ष गरेका भारतको केरलामा एक सरकारी अधिकृत भेटिएका छन्, जसले अधिकृत हुनुभन्दा पहिले अहिले आफू अधिकृत भएको रेलस्टेसनमा भारी बोकेर आफ्नो जीवन र पढाइलाई अगाडी बढाएका थिए ।
हो भारतको केरला राज्यको एर्नाकुलम नामको रेलस्टेशनमा अहिले जुन हाकिम रहेका छन् । ती हाकिम २ वर्ष पहिलेसम्म त्यही रेलस्टेसनमा अरुको भारी बोकेर भरियाको काम गर्दै पढ्दै गरेका थिए । श्रीनाथ नाम गरेका रेल स्टेशनका अहिलेका हाकिम एक गरिब परिवारमा जन्मिएका थिए । उनका आमा बुवा कतिसम्म गरिब थिए भने, उनीहरुको एउटा बस्ने घर सम्म थिएन ।
उनका बुवा आमाले जेनतेन उनलाई १० कक्षासम्म त पढाए तर छोरोलाई उच्चशिक्षा पढाउन उनिहरुसँग कुनैपनि उपाए भने थिएन । १० पास गरेका श्रीनाथले त्यहीको रेलस्टेशनमा मजदुरी गरेर बाँकी पढाइलाई अगाडी बढाए । परिवारमा गरिबी कतिसम्म थियो भने उनलाई न किताब किन्ने पैसा हुन्थ्यो न त कापी र कलम । यस्तो अवस्था हुँदा मानिसले आफ्नो पढाइलाई कसरी अगाडी बढाउन सक्ला ? जिज्ञासा आउन सक्छ ।
झन् १० कक्षा पास भएपछि त उनलाई परिवारको समेत जिम्मेवारी आयो । तर उनको सपना भने सरकारी अधिकृत बन्ने रहेको थियो । सपना एकातिर थियो भने उनी रेलस्टेसनमा भरियाको काम गरिरहेका थिए । न उनको सपना पुरा गर्ने उनीसँग शैक्षिक योग्यता नै थियो न त त्यस्तो शैक्षिक योग्यता हासिल गर्न क्याम्पस जाने पैसा र समय नै । यस्तो अवस्थामा समेत हार नखाएर श्रीनाथले आफ्नो सपना पुरा गर्ने प्रतिबद्धता कहिल्यै बिर्सिएनन् ।
रेल स्टेशनमा भएको फ्री वाइफाईको सुविधा प्रयोग गर्दै उनले क्याम्पसका अनलाइन कक्षाहरु सुनेर पढन थाले । त्यही आफूले भरिया काम गरिरहेको रेलस्टेशनमा रहेको फ्री वाइफाईलाई आफ्नो सपना पूरा गर्ने औजारको रुपमा उनले लिए । तर यसरी आफ्नो सपना पुरा गर्ने कार्य अहिले यी वाक्य लेख्नु जस्तो र सुन्नमा आएको जस्तो सजिलो भने पक्कै थिएन ।
एउटा मोबाइल किनेर अनलाइन कक्षाहरु त्यसैमा डाउनलोड गर्न थाले । उनले कापी, कलम र केही किताब पनि किने । दिनभर अरुका भारी बोकेर राति थकाइ मार्न मात्र डेरामा आउदा थकाइले गर्दा उनी पढ्दा पढ्दै निदाउन थाले । त्यसपछि रेलस्टेसनमा दिउसै एउटाको भारी बोकेर अर्को भारी बोक्न नपाउञ्जेलको समयलाई समेत उनले सदुपयोग गरे । भारी बोक्दै गर्दा समेत कानमा इएरफोन घुसारेर अनलाइनका कक्षाहरु सुन्न थाले । यसरी पढ्दै पढ्दै उनले सरकारी आयोगहरु दिन थाले ।
दुइपटकको असफलताले पुर्यायो सफलतामा
रेलस्टेशनमा भारी बोकेर जीवन चलाउदै गर्दा उनले केरलाको पब्लिस सर्भिस कमिसनबाट अधिकृतको लागि परिक्षा दिए । तर दुइपटकसम्म उनी असफल भएपनि हार खाएनन् । शरीरमा अरुको झोलाको भारी भएपनि उनको मनमा आफ्नै सपना रहेको हुन्थ्यो जसको कारण तेस्रो प्रयासमा उनी केरला पब्लिस सर्भिस कमिसनबाट पास भएर हाकिम भए ।
सन् २०१८ मा तेस्रो पटकको प्रयासमा केरलाबाट भारतको अधिकृत भएका उनी अहिले केरलाको एनार्कुलम रेल्वे स्टेसनका प्रमुख अधिकृत रहेका छन् । जहाँ उनले आफ्ना संघर्षका दिनको दौरान भरियाको काम गरेर समय व्यतित गरेका थिए ।