काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई शक्तिमा पुर्याउनका लागि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गरेको आरोप लगाएका छन्।
शनिबारकाठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी खुसी भएका थियौँ एमाले र माओवादी मिल्दा वाम घटकहरु एक ठाउँमा आउने भए भनेर, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले धेरै भूमिका खेलेका थियौँ। एकतापछि जनताले झण्डै दुई तिहाइ बहुमत दिएका थिए। तर, ओलीको रणनीति त कमरेड प्रचण्डको टाउकोमा टेकेर आफूलाई सबैभन्दा अग्लो देखिन भन्ने सोच रहेछ।’
अध्यक्ष नेपालले ओलीले सत्तामा पुग्नेको लागि प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेको टिप्पणी गरे।
नेतृत्व सहि भयो भने मात्रै पार्टी र देश समृद्धिको बाटोमा जाने उनको भनाइ छ। केपी ओलीले विदेशी शक्तिहरूलाई प्यारो ठानेर पार्टीका पुराना नेताहरुलाई वेवास्ता गरेको उनले बताए।
‘आफ्नै पार्टीका पुराना नेताहरु जसले ‘बा’ भन्दैनन्। उनलाई पुज्दैनन्। उनीहरुलाई आफ्नो ठान्दैनन्’ अध्यक्ष नेपालले भने, ‘ओलीमा दम्भ, अहंकार र व्यक्तिवाद सवार भएकै कारणले बालकोटको बार्दलीमा पुगेर भुक्नुपर्ने अवस्था आइपरेको छ। कोही डाक्टर हुनुहुन्छ भने उपचार गर्दिनुस्।’