• मंसिर २० २०८१, बिहीबार

भात फाल्ने छोरीसँग !

पुष २४ २०७८, शनिबार

प्यारी छोरी !
भात फाल्नुअघि
सुन एउटा कुरा भन्छु,
भात फाले पनि त्यसपछि फाल्नु
यो पृथ्वीमा बस्छन् सात अरब मानिस
झण्डै एक अरब मानिस भोकै सुत्छन्
कम्तिमा दश करोड मानिसहरु
अरुले फालेको भात खाएर बाँच्छन्
भोकै सुत्ने एक अरबमा
कम्तिमा छन् पच्चिस करोड बच्चाहरु
जो दैनिक भात, भात….भन्दै भन्दै रुन्छन्
र दैनिक रुँदै भोकै निदाउँछन्
ती पच्चिस करोड बच्चाहरू
कहिलै भात फल्दैनन्
तिनीहरूसँग फाल्ने भात हुँदैन
कम्तिमा पाँच करोड बच्चाहरू
दैनिक अरुले फालेको भात टिप्न
कुकुरसँग झगडा गर्छन्
कैले कुकुरले जित्छ, बच्चा भोकै हुन्छन्
कैले बच्चाले जित्छन् र कुकुर भोकै बस्छ ।

प्यारी छोरी सुन,
यो पृथ्वीमा कस्तो छ
दैनिक पच्चिस करोड कुकुरहरू
मासु भात खान्छन्
स्याम्पुले नुहाउँछन्
र गलैंचामा सुत्छन्
त्यतिनै मानिसहरू
फालेको भात खान्छन्
आँसुले नुहाउँछन्
र सडकमा सुत्छन्
मनिसहरूको जीवन
कुकुरको भन्दा तल छ छोरी !

एकातिर भोकमरीले मान्छे मर्छन्
अर्कातिर समुद्रमा चामल फालिन्छ
एक पैसा भाऊ घट्दैन भोकमरीमा
एक दाना अन्न बाँडिन्न भोकमरीमा
एक पैसा सस्तो बेच्नु भन्दा
बरु समुद्रमा फालिन्छ चामल
यो भात फाल्ने चलन नि छोरी
तिनै चामल फाल्नेबाट आएको हो
के तिमी चामल फाल्नेकी छोरी हौ त ?
प्यारी छोरी,
सरी भन्नु पनि पर्दैन
कान समाउनु झन पर्दैन
यति सानी मान्छेलाई
त्यत्रो ठूलो जरिवाना गर्नै हुन्न
बरु यता सुन
यो कुरा सबै साथीलाई भन
र आजदेखि भात फाल्दिन भन
भात फाल्नेहरू नट्टी गर्लहरू हुन्
मेरी छोरी नट्टी गर्ल हैन नि है ?
भोलिबाट भात नफाल्ने
मेरी छोरी गुड गर्ल हुने ल ?

२०७५-०-३२७

ढल्को, काठमाडौं ।