• मंसिर १३ २०८१, बिहीबार

एनआईसी एसिया बैंक लुटपाट प्रकरण: कर्मचारीकै मिलेमतोमा १६ लाख चोरी,४ जना पक्राउ

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । बानेश्वरस्थित एनआईसी एसिया बैंक लुटपाट प्रकरणमा कर्मचारीकै मिलेमतोमा  लाखौँ रुपयाँ चोरी भएको पाइएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो । सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भई ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको शुक्रबार एक सूचना जारी गरी जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकारी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको जनाएको छ।