काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावकाे तयारीमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । आज शुक्रबार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उनले भने, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’
अध्यक्ष ओलीले आउँदाे चुनाव आफ्नाे पार्टी एक्लै सत्तारुढ गठबन्धनकाे सामना गर्न सक्षम रहेको दाबी गरेका छन् । उनले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको बताउँदै याे सरकारलाई मतदानको माध्यमबाट हटाउन आमनागरिकलाई अपिल पनि गरे । उनले संसदबाट नभइ अन्यत्रैबाट बनेको सरकारलाई झन्डै तीन करोड नेपाली नागरिकले आउँदाे चुनावमा मतपत्रको माध्यमबाट अन्त्य गर्नुपर्ने बताए ।
ओलीले भने, ‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने नै होइन । यिनीहरूलाई सरकारमा बस्न जनताले आदेश दिएका थिएनन् । जनताले जनादेश नदिएका मान्छेहरू अन्यत्रैबाट आए । सरकार नियुक्त गर्ने काम जहाँ संसद्ले गर्छ । संसद्ले प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त गरिएको, अर्को प्रधानमन्त्रीले शपथ गरिसकेको यी कुरा थाहा पाएन । संसद्ले एकैचोटि विश्वासको मत लिने बेलामा सरिक हुन बाध्य भयो । असंवैधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ नाटक थियो त्यो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु– यस्ता नाटकहरूलाई आउँदा दिनमा अन्त्य गर्नुपर्छ हामीले । म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु– जनताको अदालतले यस्ता कुराहरूको सही फैसला दिनुपर्छ । सामूहिक फैसला दिनुपर्छ । झन्डै तीन करोड नेपालीले एकजुट आवाज आफ्ना मतपत्रहरूबाट प्रष्फुटित गर्नुपर्दछ । म यो आग्रह गर्न चाहन्छु र यो आग्रह लिएर, हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’