काठमाडौँ । नेपालमा थप २५० जनालाई ओमिक्रोन संक्रमण भएको छ । देशमा कोरोना भाइरस संक्रमितहरुको जीन सिक्वेन्सिङ्ग गर्दा २५० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पौष महिनामा संकलित जम्मा ११४६ वटा पोजिटिभ नमुनाहरुको एस जीन स्क्रिनिङ गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन तथा उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीको प्रयाप्त मात्रामा जोहो गर्न निर्देशन दिइएको छ ।
देशका सीमानाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजिटिभ आएका केशहरुलाई आइसोलेशनमा राख्ने व्यवस्था गरिएको छ । देशमै हालसम्म उपलब्ध तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनको अत्यधिक संक्रमण हुन सक्ने संभावना बढेर गएको छ ।