• असार १८ २०८१, सोमबार

डरलाग्दा गल्छी र गौंडा पार गरी म्याराथनमा प्रथम भइन् सुनमाया

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । भर्खरै २३ वर्ष लागेकी नेपाली चेली सुनमाया प्रशिद्ध म्याराथन धाबिका हुन् । उनले थाइल्यान्डको चाङ माइमा भएको ‘थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा महिलातर्फ पहिलो भएर नेपालको इज्जत राखेकी छिन् । उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीलाई समेत टक्कर दिएकी छिन् ।

त्यति मात्र होइन, अल्ट्रातर्फकै युटिएमबी दौडमा पुरूष र महिलातर्फको समग्र नतिजामा तेस्रो भएर देखाएकी छिन् । थाइल्यान्डको चाङ माइ क्षेत्रको भीरपाखा र डाँडाको ५ हजार ४ सय ८० मिटरसम्म उचाइमा नर्थफेस टिमबाट दौडिएकी उनले सबैलाई उछिन्दै अघि बढेकी थिइन् ।

खेल सुरु हुुँदा बिहान ८.०० बजे दौडेकी उनी बेलुकी ११.०० बज्न लाग्दा मात्र पूरा गरेकी थिइन् । लगभग १५ घण्टामा उनले यति लामो र खतराले भरिपूर्ण म्याराथनको यात्रा सफलतापूर्वक पार गरेकी थिइन् ।

प्रतिष्ठित ‘थाइल्यान्ड बाइ युटिएमबी’ जितेपछि अन्तर्राष्ट्रिय चर्चा बटुलेकी २३ वर्षीया सुनमायाले अल्ट्रा धाविका बन्छु भनेर कलपनासम्म पनि गरेकी थिइनन् ।

कर्णाली प्रदेशकी सुनमायाका लागि सानोछँदा जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै निकै ठूलो कुरा थियो । देशको राजधानी सहर काठमाडौं र विदेशका कुरा त सपना जस्तै थियो ।

बाल्यकाल निकै पीडाका साथ बिताएकी उनी विद्यालयमा आयोजना गरिने दौड प्रतियोगितामा भाग लिने गर्दथिन् । विद्यार्थी छँदा स्कुलस्तरीय खेलकुदमा भाग लिने उनी आफ्नो अविछिन्न प्रयास र शिक्षक शिक्षिकाको प्रेरणसँगै जिल्लास्तरीय प्रतियोगितामा पहिलो भएकी थिइन् ।

त्यसपछिको नेपालगन्जमा आयोजित क्षेत्रीय खेलकुदमा पनि प्रथम भएपछि उनी राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट भइन् । यस पटक पनि उनी आफ्ना प्रतिस्पर्धीहरुलाई उछिन्दै १४ वर्षकै कलिलो उमेरमा राष्ट्रपति रनिङ सिल्ड हात पारिन् ।

सुनमायाको जितको यात्रामा कहिल्यै पनि गतिरोध आएन । उनले चीन, जर्मनी, स्विट्जरल्यान्डको अल्ट्रा रेसमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेकी छिन् । उनले हालसम्म एसिया र युरोप गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिसकेकी छिन् । हाल निरन्तर रुपमा अल्ट्रा करिअरमा संघर्ष गरिरहेकी सुनमाया अब फ्रान्समा हुने रेसमा संसार जित्ने आशा पालिरहेकी छिन् ।