• फाल्गुन २९ २०८२, शुक्रबार

नेपालको हित विरोधी काम गर्ने विदेशी विरुद्ध सशक्तरुपमा कलम चलाउन वैद्यको आग्रह

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले समाज वर्गीय भएका कारण नेपालको पत्रकारता पनि वर्गीय भएको बताएका छन् । उनले नेपालका पत्रकारहरुले नेपाली जनता र देशको हितमा पत्रकारीतालाई लगाउनु पर्नेमा जोड दिए ।

अखिल क्रान्तिकारीको ३ नम्बर प्रदेश समितिको आयोजनामा राजधानीमा आयोजना गरिएको निःशुल्क पत्रकारीता तथा उद्घोषण तालिममा प्रमुख अतिथिको तर्फबाट बोल्दै वैद्यले यस्तो धारणा राखेका हुन् । वैद्यले पत्रकारीता पनि एउटा आन्दोलन भएकोले नेपालको हित विपरीत काम गर्ने विदेशी शक्तिहरुका विरुद्ध नेपाली मिडियाले सशक्तरुपमा आवाज उठाउन पर्नेमा जोड दिए ।

वैद्यले शिक्षा र स्वास्थ्य जस्ता अतिआवश्यक कुरा सरकारले जिम्मा लिनु पर्नेमा त्यसो नभएको भन्दै सरकारको बोली र व्यवहारमा भिन्नता रहेकोले पत्रकारहरुले यस्ता कुराहरु उठाएर जनतालाई सूसुचित गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारीमा अध्यक्ष अध्यक्ष हरिकृष्ण गजुरेलले देश र जनताको हितको पक्षमा सशक्तरुपमा कलम चलाउन सक्ने दक्ष पत्रकार उत्पादन गर्ने उद्धेश्यले आफ्नो संगठनले आधारभूत पत्रकारीता तालिमको आयोजना गरेको बताए ।

पत्रकारीता तालिम उद्घाटन कार्यक्रमका सभापति तथा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सीलु  न्यौपानेले यो तालिमपछि तालिममा सहभागीहरुमा पक्कै पनि देशका लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास हुने विश्वास व्यक्त गरिन् । पत्रकारीता तालिममा दर्जनौंको सहभागीता रहेको छ ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी, प्रेम तामाङ लगायत अतिथिकोरुपमा उपस्थित थिए भने कार्यक्रमको सञ्चालन शोभा विश्वकर्माले गरेकी थिइन् भने देवेन्द्र धामीले स्वागत मन्तव्य राखेका थिए ।

पत्रकारीता तालिमममा सहभागीलाई विनोद देवकोटाले प्रशिक्षण दिनेछन् । तालिम एकहप्तासम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।