• आश्विन ५ २०८१, शनिबार

एनिमल एडप्ट र पर्यटन क्षेत्रमा सक्रिय प्रजिता

पुष २३ २०७८, शुक्रबार

मदर टेरेसाले भनेकी छिन्– ‘तिमी सामान्य काम गर तर त्यो काम असाधारण प्रेमका साथ गर ।’ हो, यदि मानिसभित्र दया, माया र इच्छा शक्ति प्रवल छ भने मानवहितको लागि मात्र होइन, यस संसारका सबै प्राणीलाई आफू जस्तै प्रेमील देख्छ अनि उनीहरुको दुःखसुखमा आँशु पुछ्दै रमाउन मन लाग्छ । उनीहरुसँगै खेल्न मन लाग्छ ।

तर समाजमा निस्वार्थ भाव भएका मानिसहरु कमै मात्र हुन्छन् जसले आफ्नो खुशी भन्दा पनि अरुको खुशीकोलागि रातदिन चिन्तनमनन् गर्दैै आफ्ना पाईलाहरु निरन्तर अघि बढाई रहन्छन्, चाहे जस्तोसुकै चूनौतिहरु नै किन नआउन् । हो यस्तै नयनमा हजारौं सपनाहरु बोकी अन्तर हृदयबाट आत्मा साक्षी राख्दै केवल प्रकृति र प्राणीको सेवाभावमा आफूलाई समर्पित गर्दै समाजलाई सहि दिशानिर्देश गर्न चाहन्छिन्, तारा प्रजिता कार्की ।

पेशाले उनी सिनियर विमान परिचालिका हुन् तर उनको कार्यशैली भने समाजसेवामा ओतप्रोत छ, त्यसैले गर्दा उनी आफ्नो देशलाई कसरी समृद्धि र विकासको मार्गतिर डोराउन सकिन्छ भनेर प्रकृति, वन्यजस्तु र पर्यटन क्षेत्रका कार्यमा सक्रिय छिन् । त्यति मात्र नभई यो समाजमा महिलाले केही गर्न सक्दैन भन्नेहरुलाई गतिलो जवाफ दिनकालागि तिनीहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा पनि त्यतिकै संवेदशील भएर लागि परेकी छिन् ।

बाल्यकालदेखि नै समाजसेवा गर्ने उनको मनोभावलाई यतिबेला सदुपयोग गर्दैछिन् प्रजिता । हुन त समाज सेवाकालागि यो समाजमा अन्य मानिसहरु पनि छन् तर अन्य व्यक्तिले गरेको समाजसेवा भन्दा उनले गरेको समाज सेवामा निकै फरक पाईन्छ । जुन समाजसेवा प्रकृति र प्राणीसँग नजिक छ ।

हामी सबैलाई थाहा भएकै कुरो हो केही वर्षदेखि विश्व जगत कोभिड–१९ को चपेटामा परेर बाँच्न विवश छन् । मानिसलाई मात्र होइन, यस संसारमा भएका सबै जीवजन्तुहरुलाई पनि कोभिडले कहिँकतै प्रत्यक्ष असर पारिरहेको छ । तर मानिस एउटा सर्वश्रेष्ठ प्राणी भएको हुनाले उसले आफ्नो विवेकका कारण दिनचर्या बिताउन जसोतसो सफल भएको छ तर वन्यजन्तुमा भने कोभिडको असरले खान नपाएर ज्यान गुमाउनु परेको अवस्था छ ।

हुन त कोभिडले मानिसको ज्यान नलिएको होइन तर पनि मानिस र जनावरको जीवनशैली निकै र फरक छ । यस्तो दर्दनाक परिस्थितिमा मानिसहरु आफ्नै दुनो सोझ्याउन मात्र तल्लिन छन्, उनीहरुलाई आफ्नो बारेमा बाहेक अरुको बारेमा सोच्न सकेन फुर्सद नै छैन ।

होलान कहिँ कतै मानवीय सेवा गर्दै गरेका बालगृह, वृद्धआश्रम, जन्मदिन लगायतमा तर एनिमल एडप्टको बारेमा भने कोही कसैलाई अलिकति पनि सोच्न सक्ने फुर्सद देखिंदैन जसले गर्दा नेपालको एक मात्र चिडियाघरमा रहेका जनावरहरु पनि राम्रो बासस्थान र खानपानको व्यवस्थापन नहुँदा मुत्युको शिकार हुन परेको थुप्रै घटनाहरु छन् ।

कोभिडकै कारण देशमा अर्थतन्त्र पनि ह्रास हुँदै गएको छ । जसको प्रत्यक्ष प्रभाव मानिसलाई मात्र नभई यहाँ भएका सबै चिजहरुलाई असर पारेको छ, जसमा घरपालुवा वन्यजन्तुपनि अछुतो रहन सकेका छैनन् ।

यस्तो अवस्थामा समाजसेवी  प्रजिता  कार्की भने कसरी चिडियाघरमा भएका जनावरहरुलाई संरक्षण गर्न सकिन्छ ? कसरी उनीहरुको अभिभावक बन्न सकिन्छ ? भनेर आफ्नो बलबुताले भ्याएसम्म अघि सरेकी छिन् ।

गत वर्ष मात्र उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिडियाघरमा रहेका एक जोडी  गैंडालाई एक महिनाकोलागि एडप्ट गरी आफूले अभिभाकत्व ग्रहण गरेको समाचार सुने  लगत्तै उनी पनि चिडियाघर गई यसको बारेमा बुजबाज गरि आफूले सक्ने एनिमल एडप्ट गर्ने प्रण गरेकी थिइन् । यो अभियानमा नेपाल एयरलायन्सका सिनियर क्याप्टेन अपरेसन डाइरेक्टर दिपुराज जुहार्जन लगायत धेरै विमान कर्मचारीहरुले सहभागीता जनाएका थिए । उनले भनिन्, चिडियाखानामा रहेका सबै जनावरको अभिभावक बन्ने र उनीहरुलाई संरक्षण गर्ने ठूलो इच्छा थियो तर म एक्लैले मात्र सक्दिन तर एनिमल एडप्टको हितको लागि अभियानका कार्यलाई तिव्र बढाउने काम गर्दैछु ।

गत वर्ष कोभिडको चपेटामा परेका जनावरहरुको संरक्षणकालागि हातेमालो गर्दै अघि बढेकी समाजसेवी प्रजिताले हालसम्म १ सय ३० जनालाई एनिमल एडप्ट गराई सकेकी  छिन् ।  यो अभियानमा नेपाल एयरलायन्सका सिनियर क्याप्टेन अपरेसन डाइरेक्टर दिपुराज जुहार्जन लगायत धेरै विमान कर्मचारीहरुले सहभागीता जनाएका थिए । उनी भन्छिन्, ‘हाम्रो कार्यबाट प्रभावित भएर नेपालकै पहिलो विमान चालक  सोनी राणादेखि नेपाल एयरलाइन्सका कर्मचारीहरु र अन्य संघ–संस्थाका कर्मचारीले पनि एनिमल एडप्ट गरिसेका छन् ।

त्यति मात्र होइन उनले सुरुवात गरेको एनिमल एडप्टको अभियानदेखि प्रभावित भएर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले समेत एक जोडी बाघ एडप्ट गरेका छन् ।

प्रतिजा भन्छिन्,‘एनिमल एडप्ट गर्नकालागि जनावरलाई घरमै लगेर पाल्नु पर्दैन । चिडियाखानामा रहेका थूप्रै प्रजातिका वन्यजन्तुहरुलाई खानपान र उनीहरुको संरक्षणकालागि आ-आफ्नो तर्फबाट थोरै-थोरै लगानी गरिदिए पुग्छ ।’ भनिन्छ नि थोपा थोपा पानीले समुन्द्र बने झैं सबैको साथ सहयोग भयो भने चिडियाघरमा भएका  जनावरमा मात्र होइन, अन्य वनजंगलमा रहेका जनावरहरुलाई पनि संरक्षण गर्न सक्छौं ।

हुन त कतिपयले एनिमल एडप्टका बारेमा राम्रोसँग नबुझेर पनि होला यसमा सहभागिता कम भएको तर त्यसका लागि अभियन्ताहरुले बुझाउने प्रयास गरेको प्रतिजाको भनाई थियो । अझ आजभोलि त दिन प्रतिदिन निकुञ्जमा रहेका जंगली जनावरहरुले मानिसहरुलाई आक्रमण गर्दै आएका छन् ।

विशेषगरी पाटेबाघले वनजंगलमा घाँसपात गर्न गएका र जंगलको बाटो गरि आवतजावत गर्ने मानिसहरुलाई झम्टिने र मार्ने गरेको घटनाले पनि मानिसलाई त्रर्सित बनाएको कार्कीको भनाई रहेको छ । ती बाघहरुलाई समेत अब चिडियाघरमा ल्याउनु पर्छ किन कि मानिसहरुको ज्यान बचाउनु राज्यको कर्तब्य हो ।

ती बाघलाई चिडियाघरमा ल्याईसकेपछि तिनलाई संरक्षण र संबर्द्धन गर्नका लागि हामी सबैको साथ सहयोग हुनुपर्छ । नारी नै सृष्टिकर्ता हुन्, जति नारीले आफ्नो कोमल हृदयबाट सबैलाई प्रेम गर्न सक्छिन् त्यति नै यो संसारमा अन्य  व्यक्तिले गर्न सक्दैन ।

त्यसैले त नारीको दोस्रो रुप प्रकृतिसँग तुलना गरिन्छ । किनकि प्रकृति नै आमा हुन् । समाज सेवामा अरुभन्दा पृथक तरिकाले आफ्ना कार्यहरुमा सक्रिय भएकी हुनाले छोटो समयमै प्रतिजा यो समाजका लागि रोल मोडल हुन सफल भएकी छिन् ।

उनको कार्यलाई मानिसहरुले पछ्याउँदै छन् । हाल उनी साथसाथै नामक संस्थाकी अध्यक्ष हुन् । उनले थालनी गरेको समाज सेवा कार्यमा आफू मात्र नभई आफू सँगसँगै सहकार्य गर्ने  उद्देश्यले अघि बढ्दैछिन् । हरेक कार्यमा महिला र पुरुषको साथसाथै महत्वपूर्ण भूमिका हुने भएको हुँदा संस्थाको नाम पनि साथसाथै राखेकी प्रजिताको भनाई छ ।

उनले आन्तरिक पर्यटन क्षेत्रलाई आर्थिक रुपमै बलियो बनाउन र  उत्पादन भएका अन्नबाली, मौलिक संस्कृति र संसकारलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनकालागि पनि आगामी दिनहरुमा आफू आबद्ध संस्थाले कोसेढुंगा सावित गर्ने बताउँछिन् । त्यति मात्र होइन, पर्यटकीय क्षेत्रलाई कसरी फाहोरमुक्त बनाउन सकिन्छ भनेर समेत ट्रेकिङकै समयमा त्यहाँ जताभावी फालिएका फोहोरहरुलाई उठाएर फोहोर फ्याक्ने ठाउँमा व्यवस्थापन गरिंदै आएको छ ।

अझ विशेष गरि घर भित्रै बस्न बाध्य नेपाली महिला दिदीबहिनीहरुलाई कसरी आन्तरीक पर्यटनमा आर्कषित गर्ने र महिलालाई आर्थिकमा सक्षम, योग्य र आत्मनिर्भर भई नेतृत्व लिन सक्ने बनाउने भन्ने विषयमा पनि उनको चासो छ ।

नेपालमा अहिले पनि विदेश जाने भनेपछि हुरुक्कै हुने बानी छ । तर आफै स्वदेश भित्र भएका आन्तरिक पर्यटन विकासमा भने हामीले त्यति चासो दिएको छैनौं, जसले गर्दा नेपाला जस्तो विश्वको अग्लो सगरमाथाको देश भएर पनि हामी आफैले चिन्न नसक्दा दुःख लागेको उनले बताइन् । प्रजिता प्रकृति प्रेमी मात्र होइन उनी एनिमल लभर भनेर आफूलाई चिनाउन चाहन्छिन् ।

त्यसैले त उनले जनावरको संरक्षणकालागि खरो रुपमा लागि परेकी छिन् । उनलाई चिन्ता छ नेपालमा एक मात्र चिडियाघर छ । त्यसमा पनि सबै ती विभिन्न थरीका प्रजाति जनावरलाई बेलैमा हेरविचार र संरक्षण गर्न नसके आउँदा दिनहरुमा जनावरहरु लोप हुने अवस्थामा छन् ।

जसले आन्तरिक पर्यटन र बाह्य पर्यटनमा ठूलो घाटा लाग्नेछ र साथै कोभिडकै कारण आर्थिक मन्दी त छँदैछ । प्रतिजा भन्छिन्,‘एनिमल एडप्टको कार्यलाई सफल बनाउन सरकारको मुख ताकेर बस्नु पर्दैन यसमा हामी जस्ता सेचत नागरिकको जिम्मेवारी हो । हिजो हाम्रा बुवाआमाले हेर्नु भएको चिडियाखानाको जनावर आज हामीले हेर्न पाएका छौं, भोलि हाम्रो सन्ततीले पनि हेरेर मनोरञ्जन लिन सक्ने बनाउनु हामी सबैको कर्तव्य दायित्व हो । त्यसैले एनिमल एडप्टमा हातेमालो गरौं नेपालका आन्तरिक पर्यटनलाई विकास गरौं’ उनले भनिन् ।

भनिन्छ, यदि मानिसले सच्चा दिलले काम गर्यो भने संसारमा असम्भव भन्ने चिज केही छैन । जस्तोसुकै कार्य पनि फत्ते हुन्छ । त्यसैले नेपालको आर्थिक पर्यटनलाई आर्थिक रुपमा बलियो बनाउन होस् या नेपाली महिलाहरुलाई हरेक क्षेत्रमा अग्रसर बनाउन किन नहोस् या त यहाँ भएका वन्यजन्तुलाई आफै परिवारको जस्तो भावनात्मक सम्बन्ध गाढा बनाउन किन नहोस्, हरेक कार्यकालागि मानिस भित्र इच्छाशक्ति, मेहेनत र इमादारीताका साथ निरन्तता दिन सके अवश्य सफल हुन सक्ने अध्यक्ष प्रजिता कार्कीको भनाई छ ।

उनकै पहलमा नेपालकै विभिन्न रमणीय सुन्दर स्थानहरु अन्नपूर्ण बेस क्याम्प, मार्दी, लगायतका क्षेत्रमा महिलाहरु पैदल यात्रा गरी पर्यटकीय क्षेत्रलाई संरक्षण प्रर्वद्धन गर्न कार्य भइसकेको छ । अब केही महिनापछि इविसी जाने तयारी समेत रहेको उनले भनिन् । भनिन्छ, समय निकै नै बलवान छ । जसले समयलाई बुझेर हृदयदेखि असल कर्म गर्छ त्यही मानिसले अवस्य सफलता हालिस गर्छ । त्यति मात्र होइन हामी काम त गरिरहेका हुन्छौं तर त्यो काम साँच्चिकै आत्मालाई साक्षी राखेर गछौं त ?

संसारमा थुप्रै सफल व्यक्तिले पनि भनेका छन् कि, प्रेमपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ । किन कि काम भनेको सानो ठूलो हुँदैन । मात्र त्यसले अर्थ राख्छ कि त्यो काम गराई प्रेमपूर्वक छ कि छैन ?

साँच्चै नै भन्नुपर्दा समाजसेवी कार्की प्रकृति प्रेमी हुन् । उनी भन्ने गछिन्,‘प्रकृतिलाई हेरेपछि म निकै बेर मौनतामा बसेर कल्पित हुन्छु । त्यति मात्र होइन म निकै भावुक हुन्छु तर म कसैलाई भन्दिन । तर समाज र राष्ट्र विकासकालागि मैले सक्ने योगदान निरन्तर गरिरहनेछु उनले भनिन् ।’