काठमाडौं । पशुपति धर्मशालामा ‘फोर स्टार’ होटल चलाइरहेको र नारायणहिटी दरबार संग्रहालयमा रोयल बगैंचा रेस्टुरेन्ट चलाउने ठेक्का हात पारेको बतास समूहले पोखरास्थित गण्डकी संग्रहालयको जग्गा र भवन पनि ओगटेको छ ।
१० वर्षको म्याद सकिएपछि एक वर्षयता संग्रहालयले पटक–पटक ताकेता गरे पनि बतासले छाड्न मानेको छैन । बरु पहुँचका आधारमा २५ वर्ष म्याद थप्न प्रयास गरिरहेको छ ।
पुरातत्त्व विभागमातहत पोखराको नयाँबजारमा रहेको तत्कालीन क्षेत्रीय संग्रहालय हाल प्रदेश संग्रहालयका रूपमा गण्डकीको शिक्षा, संस्कृति मन्त्रालयअन्तर्गत छ ।
संग्रहालयको पश्चिमपट्टि मूल सडकसँग जोडिएको जग्गा र भवन भाडामा लगाउन पुरातत्त्व विभागले २०६७ मा सूचना निकालेको थियो । बढी भाडा कबोल गर्ने बतास ब्रदर्स मोटर्स प्रालिले २०६७ माघ ३ देखि लागू हुने गरी १० वर्षका लागि यो क्षेत्र भाडामा लिएको थियो ।
संग्रहालयले पहिले नै बनाएको भवन र झन्डै २ रोपनी जग्गा बतासले भाडामा पायो । पहिले भएको भवनसँगै जोडेर बतासले अर्को भवन थपेर अटोवेज प्रालिका नाममा विभिन्न गाडीको ‘सो रुम’ चलाउँदै आएको छ ।
त्यतिबेला मासिक ६५ हजार १९ रुपैयाँ भाडादर तोकिएकामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि गर्ने सम्झौता थियो । पुरातत्त्व विभागका तत्कालीन अनुसन्धान अधिकृत मोहनसिंह लामा र आनन्दराज बतासले हस्ताक्षर गरेको सम्झौताको म्याद २०७७ पुस २० मा सकिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।