काठमाडौं । पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय नेपाल सुशासन पार्टी बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टीको अध्यक्षमा खरेल, पाँच उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन्।
महासचिवमा गोविन्द गिरी रहेका छन्। बहुपदयी संरचनाको सुशासन पार्टीमा पाँच सचिव छन्स भने चिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन्।
यसैगरी कोषाध्यक्षमा भक्तबहादुर केसी र सह कोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहेका छन् ।
अध्यक्ष खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सुशासन पार्टीले हिमाल, पहाड, तराई, मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण, समन्यायिक सेवामा जोड दिने बताएका छन् ।
‘राजनीति सेवा हो पेसा होइन भन्ने कुरा सुशासन पार्टी दृढ रहने छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘छिट्टै घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारी छ।’