काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताएका छन् ।
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको बताए । सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने उनको तर्क थियो ।
मन्त्री भुसालले भने, “पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’ अवधारणाको विकास भएको छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।” नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।
मन्त्री भुसालले परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्नेमा जोड दिइन् । नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।