• मंसिर ११ २०८१, मंगलवार

के हिजो र आजको समिक्षा गरेका छौ !?

पुष २२ २०७८, बिहीबार

हो, हो, तिमी म भन्दा अलि घमण्डी छौ
किन कि
तिमीले पैसा कमाएका छौ
तिमी ठूलो अपार्टमेन्टमा बस्छौ
सफा र सुन्दर सहरभित्र रमाएका छौ ।

तिमी म भन्दा
अलि सुकिलामुकिला पनि छौ
पुटुस्स भुँडी लागेको र चम्किला पनि छौ
जब कि म पेटभरि खान नपाएर
कुपोषण लाए झैं छु ।
तिमी चिल्लो कारमा सवार छौ
म बस चढ्ने भाडा नपाएर फाटेका खुट्टाले पैदलै हिंड्न विवश छु
यही त हो तिमी र ममा पलाएको
आर्थिक र वर्गीय भिन्नता ।

तिमीले काठमाडौं र पोखरामा
ठूला घर ठड्याएका छौ
तर धेरैले तिम्रो कमाइमा शंका गर्छन्
किन कि तिमी हात्तीले झैं
देखाउने एउटाले तर चपाउने अर्कै दाँतले गर्छौ रे !
अनि जताततै पैसैपैसा भएपछि
तिमीलाई घमण्ड चढ्दैन त ?
किन कि मानिसलाई धन र दौलतले
उमाल्दो रहेछ
ओहो, म जस्तो कोही छैन भन्ने
सोंच आउँदो रहेछ
सायद तिम्रो विवेक र ज्ञानको भाँडोमा
मुर्खताको बिर्को लागेको होला
किन कि मैले यसअघि पनि तिमी जस्तै
धनैधनले छोपिएको तर ज्ञान र मनको भने दरिद्र साथी पनि भेटेकी थिएँ
यसैकारणले होइन र
सफलताको शिखर चढ्दै गरेकाहरु पनि माटोमा बिलाउने गरेका ?!

यता गाउँमा तिम्रा साथी अझैपनि
हात्ती छाप चप्पल पड्काउँदै हिँड्न विवश छन्
तिमी भने लाखौं पर्ने कारमा सरररररर
हुँइकिन्छौ
अनि हजार पर्ने जुत्ताको त
के कुरा गर्नु र है !

ए साँची ! छिट्टै अर्बपति बन्न त
तस्करसित मिलेर
२ नम्बरी काम गर्नु पर्छ रे होइन र ?
ए साँची सुन त,
हिजो त तिमीले हामीलाई
आफ्नो संस्कृति संरक्षण गर्नुपर्ने
र लागू पनि गर्नुपर्ने गजबको
पाठ सिकाउँथ्यौ
तर आज आफै डिस्कोमा मातेर हिंड्छौ रे !
हिजो हामीलाई देशभक्तिको भावना पढाउँथ्यौ र वीर पूर्खाका वीरता घोकाउँथ्यौ
तर आज त तिमी विदेशीको दलालको
गुलामी गर्छौ रे !
हामीलाई इमानदारीताको पाठ सिकाउँथ्यौ
तर तिम्रा आफन्त मन्त्री हुन कोही बाँकी छैन रे !
तिमीले गरेको र देखाएको आजको
यथार्थ यही होइन र ?
यो यथार्थ तिमीले हिजो हामीलाई सिकाएको
पाठ भन्दा निकै नै भिन्न छ त,
के तिमीले हिजो र आजको भिन्नतामा
समिक्षा गरेका छौ ?