• असार १३ २०८१, बुधबार

पीडैपीडाको पहाडले थिचिएका चर्चित साहित्यकार जिब्रानबाट के सिक्ने ?

पुष २२ २०७८, बिहीबार

दार्शनिक, सटिक अनि पेचिलो कथा लेख्ने व्यक्ति हुन्–खलिल जिब्रान । उनको जन्म तत्कालीन सिरियाको माउन्ट लेवनान प्रान्तमा एक सम्पन्न परिवारमा भएको थियो । कर छलेको अभियोगमा उनका पितालाई जेलचलान गरि सम्पतिसमेत जफत गरिएपछि एकाएक उनीहरू घरबारविहीन भए । अनि गरीबीका कारण उनको बाल्यकाल शिक्षा प्राप्त गर्नबाट बञ्चित भयो ।
आमा कामिलाले उनलाई अमेरिका लगिन् तर एकाएक उनको जीवनलाई दुःखको पहाडले थिच्न पुग्यो । चौध वर्षमै बहिनी मरिन्, अनि दाजु मरे, फेरि क्यान्सर लागेर आमा पनि मरिन् । त्यसको छ वर्ष नबित्दै लेवनानमा पिताको पनि मृत्यु भयो । अब मात्र उनी र उनकी एक बहिनी बाँकी रहन पुगे । उनी बान्ह वर्षमै परिवारसँग अमेरिका, बेल्जियम, फ्रान्स घुमेका थिए । दुई वर्ष अमेरिका बसी पुनः जन्मस्थानमै फर्केका थिए ।

त्यहाँ हिक्मट विश्वविद्यालयमा भर्ना भई अरबी साहित्य पढे, अनि अरबी भाषामै कविता पनि कोर्न थाले । उनी थोरै समयमा चर्चित पनि भए । सन् १९०३ मा उनी फेरि अमेरिका गए । त्यहाँ अङ्ग्रेजी साहित्यको गहन अध्ययन गरे । त्यसको पाँच वर्षपछि फ्रान्स गई चित्रकला पनि पढे । यसबाट उनको कल्पनाशक्तिले उचाइसम्म उडान भर्न थाल्यो । त्यसले उनलाई सिर्जनशील बनायो ।

जिब्रान सन् १९१२ मा फेरि अमेरिका गई न्यूयोर्कमा बस्न थाले । त्यसको ६ वर्ष पछिदेखि अङ्ग्रेजीमै लेख्न थाले । उनी धर्मले इस्लामिक भए पनि इस्लाम धर्मको धर्मन्धता र पखण्डमाथि कडा प्रहार गर्थे । ‘स्पिरिट रिबेलियस’ प्रकाशित भएपछि तहल्का मच्चियो, उनले धर्मन्धतामाथि प्रहार गरे जसबाट पुरोहितहरू आक्रोशित भए अनि उनको पुत्ला जलाइयो । सिरियाले त उनको पुस्तकमाथि प्रतिबन्ध नै लगायो । चर्चले उनलाई बहिष्कार गर्यो । अट्टोमन साम्राज्यले उनलाई देशबाट निष्काशित गर्यो तर उनी डगमगाएनन् र पछि हटेनन् । लेख्दै रहे अनि आफ्नो विचार पोख्दै गरे ।

चित्रकला र वास्तुकलामा उनी रोंदाबाट प्रभावित थिए भने दर्शनमा नित्से र साहित्यमा सेक्सपियर, दाँतेबाट प्रभावित थिए । उनी चित्र बनाउन पनि उत्तिकै खप्पिस थिए । सजीव उतार्थे । त्यसैक्रममा उनले चित्रकलाको प्रदर्शनी पनि गरेका थिए अनि आफ्ना पुस्तकमा उनी आफैले कोरेर चित्र राख्थे ।

उनको ‘द प्रोफेट’ अत्यन्त सफल र प्रसिद्ध भयो । यसले उनलाई अन्तराष्ट्रिय ख्याति दिलायो । उनका अन्य कृतिहरूमा ‘पागल मान्छे’ ‘बीस चित्र’ ‘दि फोर रनर’ ‘सैण्ड एण्ड फोम’ ‘दि अर्थ गइम’ ‘दि वन्डरर’ ‘दि गार्डेन अफ दि प्रोफेट’ आदि छन् । उनका कृतिहरू झण्डै २५ भाषामा अनूदित छन् । उनी एक कवि, उत्कृष्ट निबन्धकार र कुशल चित्रकार थिए । उनलाई वाल्ट व्हिटमानपछिको अमेरिकाका सशक्त कवि पनि भनिन्छ ।

अमेरिकी राष्ट्रपति केनेडीसमेत उनका प्रशंसक थिए । उनी दार्शनिक थिए । उनी रोचक कथा लेख्ये अनि छोटो कथामा पनि महान् जीवनदर्शन अभिव्यक्त गर्न सक्थे । त्यसैले त भनिन्छ, उनी छोटो लेख्थे तर दर्शन लेख्थे । उनी बोल्न पनि थोरै बोल्थे, हुँदा हुँदै चिट्ठी लेख्दा पनि संक्षिप्तमै लेख्थे ।

लेवनानमा रहँदा उनले सुल्ताना तावितसँग प्रेम गरेका थिए । पछि जियादेसँग प्रेम गरे तर सफल भएनन् । उनले जोसेफाइनलाई पनि अत्यन्तै मन पराए । उनी जोसेफाइनको प्रेममा लिप्त भए, तिनलाई हृदयको कुनामा बसाए तर जब विवाहप्रस्ताव राखे तिनले अस्वीकार गरिन् । जसका कारण उनी विछिप्त भए । जोसेफाइनले अर्कैसँग बिहे गरिन् । फेरि उनले मेरीसँग प्रेम गरे ।

नयाँ मेरीले उनका रचना साफी गरिदिन्थिन्, सम्पादन गर्थिन्, सच्याइदिन्थिन्, अनि विचार पनि दिन्थिन् तर तिनले पनि जिब्रानको विवाह प्रस्तावलाई उमेरहदका कारण अस्विकार गरिदिइन् तर बिहे नगरे पनि मेरीले जिब्रानलाई जीवनभर साथ भने दिइन् ।

उनी लेखक तथा साहित्यकार मात्रै होइनन्, एक दार्शनिक पनि थिए । उनका सिर्जनामा दर्शनको गहनता पाइन्छ । उनी ऋतुहिन संसारको कल्पना गर्दैनन् । उनी स्थिरतालाई क्षणिक उनी लेखक साहित्यकार मात्र होइनन्, एक दार्शनिक पनि थिए । उनी स्थिरतालाई क्षणिक मान्दछन् र परिवर्तनलाई शाश्वत मान्दछन् । उनी श्रमप्रति प्रेम गर्छन् र श्रमप्रति निष्ठा राख्नुपर्ने मान्यता राख्दछन् ।

उनी जब दश वर्षमा पुगेका थिए, एक दिन अचानक भीरबाट खसे जसको कारण उनको देब्रे कुममा चोट लाग्यो । त्यसको पीडा उनले जीवनभर भोग्नुपर्यो । जीवनको उत्तराद्र्धमा उनलाई कलेजोको रोगले सताउन थाल्यो । पीडाबाट बच्न झन् धेरै रक्सी पिउन थाले तर रोग बीसको उन्नाइस हुनुको सट्टा झन् गम्भीर भयो । उनी मानसिक रूपमा निष्कृय हुन थाले ।

जीवनको ४८औँ वसन्तमै उनको इहलीला न्यूयोर्कको अस्पतालमा समाप्त हुन पुग्यो । उनको जन्म सन् १९८३ जनवरी ६ मा भएको थियो भने मृत्यु १९३१ अप्रिल १० मा भइको थियो । छोटो समयमै यस संसारबाट बिदा भए पनि आज पनि उनी त्यतिकै चर्चित छन् । उनी देशले के दियो भन्नुभन्दा पनि बरु आफूले देशको लागि के दिन सकियो भनेर सोच्नुपर्ने कुरामा जोड दिएर भन्छन्,‘यो नसोध कि तिम्रो देश तिम्रो लागि के गर्न सक्छ, बरु तिमी आफैलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्न सक्छौ ?’

(रामकृष्ण खुलीमुलीद्वारा संकलित ‘संसारका चर्चित व्यक्तित्वहरु’ बाट)