• बैशाख १५ २०८२, सोमबार

नारायणहिटी प्रकरण : छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्री आलेकाे निर्देशन

पुष २२ २०७८, बिहीबार

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी प्रकरणमा छानबिन समिति गठन गरेकाे छ । सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि समिति गठन गरिएको हो ।

आज बिहीवार गठन गरिएको यस समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा र समितिको सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन्।दरबार सङ्ग्रहालयभित्र निर्माण गरिन लागेको रेस्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको बताइएको छ।

मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिएका थिए। मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ । समितिले सङ्ग्रहालयको दश रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।