• असार १८ २०८१, सोमबार

बालमैत्री उपमहानगर घोषणा हुँदै घोराही उपमहानगरपालिका

पुष २२ २०७८, बिहीबार

दाङ २२, पुस ।
दाङको घोराही उपमहानगरपालिकालाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्न आन्तरिक कामलाई तीव्रता दिइएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लाई पालना गर्दै बालमैत्री पालिका घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटै सूचकलाई कार्यान्वयनको चरणमा अघि सारेको महिला बालबालिका तथा सामाजिक विकास शाखाले जनाएको छ ।

आगामी फागुन २४ गते नारी दिवसका सन्दर्भ पारेर घोराहीले जिल्लामै पहिलो पटक बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य राखेको छ । घोराहीले आर्थिक वर्ष २०७४–०७५ बाट बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाएको थियो । यसअघि साविक धर्ना र सौंडियार गाविस बालमैत्री घोषणा भइसकेकाले अन्य वडाहरुमा २०७८ असार २७ गते जारी भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लाई आधार बनाएर सबै वडाहरुमा रहेको सम्वद्ध स्थानहरुमा सूचक पूरा गर्ने गरी काम तीव्रताका साथ अघि बढाइएको महिला बालबालिका तथा सामाजिक विकास शाखाकी प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिइन् ।

यसअघि २०६८ असार २१ गते ३९ वटा सूचकका आधारमा बालमैत्री स्थानीय शासन व्यवस्था घोषणा गर्ने प्रावधान रहेपनि पछिल्लो पटक सरकारले जारी गरेको निर्देशिकाले सूचकको दायरा बढाएको छ । अहिले पनि ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बालश्रमिक भेटिने गरेको, सरसफाईका क्षेत्रमा चुनौति देखिएको, शिक्षा, स्वास्थ्य, पोषण लगायतका अवस्थामा सुधार गर्नुपर्ने देखिएपनि यसलाई सबैसँगको सहकार्यमा सुधार गर्दै लगेको र अबको दुई महिनामा आवश्यक सूचकको मापदण्ड पूरा हुने अपेक्षा गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विश्वकर्माले बताइन् ।

“पालिकाको सबै वडाहरुमा रहेको विद्यालय, सार्वजनिक क्षेत्र, टोलहरुमा स्थानीय शासन संचालन ऐन २०७४ को अवस्था बारेमा अनुगमन गर्ने, बालमैत्री शासन व्यवस्था कार्यान्वयन निर्देशिकाले तय गरेका सूचक पालना गर्न अपनाउनु पर्ने विधि र प्रकृयाका बारेमा सचेतिकरण गर्ने तथा ती कामहरुको दस्तावेजीकरण गर्ने काम भैरहेकोे छ” शाखा प्रमुख विश्वकर्माले भनिन् ।

उपमहानगरपालिकाका सवै वडामा बाल संरक्षण समिति गठन गरि काम अघि बढाइएको बताउँदै त्यहाँ रहेका बाल क्लव, युवा क्लव, टोल विकास संस्था, सरोकार राख्ने विभिन्न संघ–संस्थाहरुको सहकार्यले लक्षित समयमै पालिकालाई बालमैत्री पालिका घोषणा गर्न सकिने अवस्था रहेको घोराही उपमहानगरपालिकाले दावी गरेको छ ।

यसअघि पनि पटक पटक जनप्रतिनिधि, टोल विकास संस्था, पालिकामा रहेका सम्वद्ध शाखा, महाशाखा, स्वास्थ्य स्वयंसेविका, नागरिक अगुवा, विद्यालयका प्रधानाध्यापक लगायत सबैलाई बालमैत्री स्थानीय शासन स्थापनाका लागि पालन गर्नुपर्ने सूचकका बारेमा अभिमुखीकरण गर्दै कार्यान्वयन थालिएको महिला बालबालिका तथा सामाजिक विकास शाखाको भनाई छ । अहिले खासगरी बजार क्षेत्रमा बालश्रमको अवस्था बढी रहेको पाइएको जनगुनासो र चासो लिइएकाले यस क्षेत्रमा यथार्थताको पहिचानका लागि काम भइरहेको छ ।

“बालश्रम, बाल सीप वा बाल काम केका लागि बालबालिकाहरु संलग्न छन् भन्ने यकिन गर्ने काम हामीले अघि बढाउँदैछौं, यसको किटान गरी यदि कुनै पनि बालबालिका श्रमशोषण वा अन्यायमा परेका भेटिए आवश्यक कानूनी कारवाही गरी उनीहरुको उद्धार संरक्षणको काम गर्नेछौं” शाखा प्रमुख विश्वकर्माले भनिन् । उनका अनुसर घोराहीको वडा नम्बर १४, १५, १६ र १७ बालश्रमका दृष्टिकोणले जोखिम वडाका रुपमा पहिचान गरिएको छ ।

शारीरिक जोखिम र विकासको अवस्थामा असर नपर्ने गरि सीप आर्जन हुनुपर्ने हुँदा यसलाई आधार मानेर अवस्था पहिचानका लागि वडा कार्यालय, सरोकार संघसंस्था, प्रहरी मिलेर अनुगमन गर्न लागिएको छ । पालिकालाई बालविवाह मुक्त बनाउँदै लगेको पनि पाइएको छ । ग्रामीण क्षेत्रका वडाहरुमा बालविवाहको अवस्थामा कमी आएको त्यहाँका बाल क्बलहरुको भनाई छ ।

यद्यपि, पहाडी वडाका रुपमा रहेको घोराही–१९ मा भने अझै यो चुनौतिका रुपमा रहेको पाइएको छ । यस्तै पोषणको अवस्था सुरक्षित हुनुपर्ने, शिक्षा सबैले पाएको हुनुपर्ने लगायत कामलाई निरन्तर प्रभावकारी बनाउन र अभिलेखिकरण हरेक वडामा बाल संरक्षण समिति गठन गरि काम अघि बढाएको छ । यसैगरी, विद्यालयमा खेल मैदान, पिउने पानी, सफा शौचालय, फोहोर व्यवस्थापन गर्न बाल क्लबलगायतको समूह तयार पारिएको छ ।

बाल बचाऊ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति बालमैत्री शासन व्यवस्थाको आधार भएकाले यी कामलाई विगतका दिनबाट पूरा गर्न थालिएको प्रयासले सार्थकता पाउन थालेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताए ।

विकास क्रमको निरन्तरतामा स्थानीय सरकारले थालेको कामलाई अर्थपूर्ण बनाउन सबैको सहयोग अपरिहार्य रहेको मेयर चौधरीको भनाई रहेको छ । अहिलेसम्म पालिकाका सबै वडामा धेरै राम्रा काम भइसकेको हुँदा अब अधुरा र बाँकी रहेका कामलाई गति दिन जरुरी रहेको मेयर चौधरीले बताए । शुरुवाती चरणमा तय भएका सूचकमा उपलब्धि नदेखिए जस्तो लागेपनि नीतिगत रुपमा गरिएको कामले अन्ततः पूर्णता पाउँदै गएको हुँदा अब नतिजा देखिने बेला आएको उनको भनाई रहेको छ ।

“पहिले पहिले गरेको कामले केही भएन की भन्ने जस्तो सबैलाई लाग्यो होला, अब नतिजा देखिने गरि काम भएको रहेछ भन्ने अवस्था बन्दै गएको छ, अन्तिम अवस्थामा मन, वचन र कर्मले दत्तचित्तका साथ सबैले कामलाई अझ गति दिन आवश्यक छ” उनले भने ।

सूचक पूरा गर्ने काम मात्रै नभई थप सामाजिक विकासका काममा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेकोले घोषणा केवल घोषणाका लागि मात्रै होईन परिवर्तन सहितको अनुभूति नागरिकले गरेको हुनुपर्छ भन्ने मान्यताका साथ अभियान अघि बढाइएको हुँदा यसलाई सबैले महत्वपूर्ण कामको रुपमा अंगिकार गर्नुपर्ने उनको भनाई छ ।