काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन्। केएमसीले एमबिबिएस अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषय बाहिरिएपछि बिहीबार मन्त्री पौडेल अनुगमनका लागि भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित केएमसी पुगेका शिक्षामन्त्री पौडेलले शुल्क विवादबारे जानकारी लिएका थिए। उनले कलेजलाई सरकारले तोकेभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन्।
मन्त्री पौडेलले बढी शुल्क नलिएको प्रमाणित गर्न नसके कारबाही गर्ने प्रस्ट पारेका छन्। केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन गर्दै आइरहेका छन्। बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारवाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।