काठमाडौँ। सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना समेत दिएको छ । देउवा आगामी आइतबार भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदै छन्। यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीले बताए ।