काठमाडौं । १४औँ महाधिवेशन सकिएको एक महिना नपुग्दै काँग्रेसमा गुटको राजनीति संस्थागत हुन थालेको छ । महाधिवेशनको समीक्षा र आगामी कार्ययोजनालाई लिएर काँग्रेसको संस्थापनइतर समूहले बुधबार राजधानीमा भेला नै गरेको छ । इतर समूहको नेतृत्व महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइरालाले गरेका छन् ।
भेलाले आफ्नै समूह व्यवस्थापन गर्न नसक्दा पराजय व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ । महाधिवेशनपछि कोइरालाको नेतृत्वमा बसेको इतर समूहको भेलाले समूह व्यवस्थापन गर्न नसक्दा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको नेता गुरुराज घिमिरेले बताए ।
नेता घिमिरेका अनुसार समूहभित्रकै नेताहरूको स्वार्थकेन्द्रित राजनीतिका कारण इतर समूहले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भेलाको निष्कर्ष छ । ‘निर्वाचनमा आफ्नो समूहको व्यवस्थापन राम्रो नभएकाले अपेक्षाकृत नतिजा आएन ।
नेताहरू समूहप्रति प्रतिबद्ध हुनुभएन, आफ्नो–आफ्नो स्वार्थमा केन्द्रित हुनुभयो,’ नेता घिमिरेले नयाँ पत्रिकासँग भने, ‘स्वार्थमा केन्द्रित प्रवृत्ति देखिएकाले एकै समूहमा बसेर लडाइँ लड्ने, १३औँ महाधिवेशनमा आफू उम्मेदवार हुने र १४औँ महाधिवेशनमा आफ्नो स्वार्थका लागि समूह छाड्दा अपेक्षाकृत नतिजा ल्याउन नसकेको निष्कर्ष रह्यो ।’
अर्का नेता भूपेन्द्रजंग शाहीले पनि निर्वाचनमा तयारी नपुगेको र त्रुटि भएको समीक्षा भएको जानकारी दिए । ‘गम्भीर समीक्षा भयो । तयारी पुगेन र त्रुटि भयो भन्ने सबैको मत रह्यो,’ शाहीले भने, ‘अब भने कमजोरी नदोहोरिने गरी डा। शेखरकै नेतृत्वमा अगाडि जाने तय भएको छ । अब उहाँ वरिष्ठ नेताका रूपमा इतर समूहको नेतृत्वमा आइसक्नुभएको छ ।’
भेलामा नेताहरूले १४औँ महाधिवेशनपछिको पार्टी सञ्चालन प्रक्रियामा प्रश्न उठाएका थिए । पार्टी सञ्चालन अप्रजातान्त्रिक र विधानविपरीत भएको भेलाको निष्कर्ष छ । भेलामा मुख्य रूपमा नेता कोइरालाको वरीयताको विषय उठेको थियो ।
नेता घिमिरेका अनुसार सहभागी पदाधिकारी, केन्द्रीय सदस्य तथा अन्य नेताले सभापतिका निकटतम प्रतिद्वन्द्वी कोइरालाको वरीयताको विषयलाई लिएर असन्तुष्टि पोखेका थिए । कोइरालाको वरीयता तेस्रो नै हुनुपर्छ भन्ने मत आएको नेताहरूले बताएका छन् ।
‘निकटतम प्रतिद्वन्द्वीलाई गर्ने व्यवहार प्रजातान्त्रिक भएन । अपमानजनक ढंगले वरीयतामा पछाडि धकेलिएको छ,’ घिमिरेले भने, ‘रामचन्द्र पौडेललाई वरिष्ठ नेताका रूपमा मान्ने हो भने पूर्वाग्रह छैन । त्यसपछिको वरीयतामा उहाँलाई राख्नुपर्छ भन्ने भेलाले निष्कर्ष निकालेको छ ।’
भेलाले विधानले निर्दिष्ट गरेको प्रक्रियाअनुसार पार्टी चलाउन सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ । ‘१३औँ महाधिवेशनपछि पनि देउवाले विधान उल्लंघन गर्दा हामीले मौन समर्थन जनायौँ । त्यसपछि सभापतिको स्वेच्छाचारिता बढ्दै गयो,’ घिमिरेले भने, ‘अब पार्टीलाई विधान र पद्धतिअनुसार चलाउने कुरामा चाहिँ हामीले डटेर मुकाबिला गर्नुपर्छ भन्ने निष्कर्ष छ ।’ यो समाचार नयाँ पत्रिकामा छ ।