• फाल्गुन २९ २०८२, शुक्रबार

हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी छ : अध्यक्ष ओली

पुष २१ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्। अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारे।

‘संस्कृति बचाऊ’ अभियन्ताहरूसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले हाम्रा पूर्वजहरूसँग अरू कसैकाे तुलना हुन नसक्ने बताए।

उनले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे।

अध्यक्ष ओलीले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताए । पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने उनको भनाइ छ ।

हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको उनले बताए।