ऊ आमा बोकेर सडकमा हिंडिरहेछ
ऊ आमा बेच्न फुटपाथमा बसिरहेछ
घरी भाउ बढाउँछ
घरी भाउ घटाउँछ
स्वर बस्ने गरि चिच्चाउँछ
अचेल ऊ सडकमा आमा बोकेर हिंड्छ ।
आमालाई उसले फुटपाथमा राखेको छ
मोलतोल गर्छ बगरेहरुसँग
बगरेहरू आमाको अङ्ग–प्रत्यङ्ग
नियाल्दै ‘गजब छ माल’ भन्छन्
घुटुक्क थुक निल्छन्
र स्वार्थका सपनाहरु बुन्छन् ।
ऊ अचेल सडकपेटीमा
आमा बोकेर हिंड्छ
आमालाई उसले फुटपाथमा राखेको छ
तर ऊ भन्छ आफूलाई महान् सन्तान ।
आमा बेचेर पैसा कमाउँछ
यही त हो मेरो ज्ञान
हो ऊ अचेल
आमा बोकेर हिंडेको छ
फुटपाथमा लिलामीमा राखेको छ ।
के आमा फुटपाथमा
बेचिने माल हुन् ?
के आमा सडकपेटीमा
डुलाउने सामान हुन् ?
जसलाई पैसासँग तुलना गरौँ ।
आमा त इज्जत हो
आमा त स्वाभिमान हो
आमा त सन्तानको शिर हो
म सक्दैन मेरी आमा
लिलाममा बेचिएको हेर्न
म सक्दैन मेरी आमा
पैसासँग साट्न र फेर्न
म कसरी सक्छु र मेरी आमा
ऊ जस्तै गरि हदसम्म गिर्न
हो मेरी आमा
मेरो नसामा रगत बग्दासम्म
मेरो मुटुको धड्कन चल्दासम्म
तिम्रो रक्षाको लागि
खुँडा खोजी रहन्छु
तरवार रोजिरहन्छु
उसको कुकार्यको विरुद्ध
म लडिरहन्छु ।
हो ऊ अचेल सडक पेटीमा
आमा बोकेर हिंडिरहेको छ
आमा बेचेर पैसा कमाउने
ध्याउन्न खोजी रहेछ ।