हिन्दु धर्मका ग्रन्थ वा सङ्गठित औपचारिक शिक्षाबाट दलितलाई विगतमा वञ्चित गर्दै आइयो । यो दलित अवस्था सिर्जना गर्ने औजार थियो । तर, शिक्षा मात्रले जात व्यवस्था सिङ्गै बन्न पुगेको होइन । बरु, जात व्यवस्थामा आधारित अर्थतन्त्र अथवा दलितलाई भूमिको मालिक हुने अधिकार नहुने व्यवस्था, राजनीति अथवा नीति–निर्माण र लागू गर्ने संरचनामा उपस्थित हुन नपाउने व्यवस्था अनि जात व्यवस्थामा आधारित उचनीचमय सम्बन्धलाई स्वाभाविक र आवश्यक बताउने सांस्कृतिक चेतना निर्माणको जगमा जात व्यवस्था निर्माण हुन पुगेको हो ।
त्यसैले धर्मशास्त्र नपढेकाले मात्र दलित अवस्था सिर्जना भएको भन्ने तर्कले नितान्त झिनो यथार्थ मात्रै बोक्छ । बुझ्नका निम्ति आज हिन्दु धर्मशास्त्र जसले पढे पनि हुन्छ, दलितले पढे पनि हुन्छ, तर त्यो शास्त्र पढ्ने दलित भूमिहीन छ भने ऊ जमिनको मालिक बन्न पुग्छ त ? त्यसैगरी, हिन्दु धर्मशास्त्रका ग्रन्थ गैरदलितभित्रका ब्राह्मण क्षेत्री महिलालाई त मूलतः पढ्ने अधिकार नै थिएन । पुरुषलाई अधिकार भए पनि सबै पुरुषले पढेका होइनन् । तब उनीहरूको स्थिति त्यो नपढेकै हुनाले दलितको जस्तो भयो त ?
त्यसकारण विषय टुक्रा–टुक्रा पारेर बुझ्नु ठीक होइन । त्यसको सट्टा समग्र जात व्यवस्थामा आधारित गरेर बुझ्नु नै सही हुन्छ । दलितले मात्रै होइन, संसारका प्रत्येक मानिसले प्रत्येक पुस्तक पढ्ने अधिकार राख्नुपर्छ । तर, कुनै पनि पुस्तक पढे मात्र ऊ अर्को मानिससरह बन्न सक्छ भन्ने मान्यता चाहि मानवताविरोधी हो । एउटा नितान्त गलत अवधारणा हिन्दु समाजमा प्रचार गरियो ।
त्यो के भने जीवन र जगत्का मात्र होइन, पूर्वजन्म र परलोकका सबै प्रश्नका उत्तर धर्मशास्त्रमा छ वा वेदहरूमा छ । यो प्रचार नै गलत थियो, गलत हो । वेद, उपनिषद् वा कुनै पनि धार्मिक ग्रन्थमा त्यतिबेलाका शासकले आफ्नो शासनलाई दीर्घजीवी बनाउन संश्लेषण गरेका नीति, त्यतिबेलासम्म ज्ञात प्रकृतिका नियम आदि मात्र सङ्कलित छन् । त्यसबाट मात्रै जीवन्त जिन्दगी र समाज चल्न सक्दैनन् ।
प्रत्येक समयको वर्तमानको समाज र जीवनलाई प्रगतिशील बनाउने त्यतिबेलाकै आवश्यकता अनुसारको ज्ञान विकास गर्नु जरुरी हुन्छ । यो सोझो ज्ञानशास्त्रलाई छोपछाप पारेर एकादेशका धर्मग्रन्थमा नै सबै उत्तर छ, ती उत्तरमय ज्ञान लिने मान्छे मात्रै अब्बल हुन्छ, अरू चाहिँ कमसल हुन्छन् भनी जुन प्रचार गरियो, त्यो आफैमा षड्यन्त्रकारी कुरा थियो ।
त्यसैले वेद–पुराण पढेर मात्र कोही अब्बल हुन्छ भन्ने दृष्टिकोण नै गलत हो । कुरा कति चाहिँ हो भने विगतमा मानवजातिले आर्जन गरेका सकारात्मक वा नकारात्मक ज्ञान के कस्तो थियो र त्यसबाट वर्तमानका निम्ति के कति फाइदाजनक विषय प्राप्त गर्न सकिन्छ भन्ने कुरा जान्नका निम्ति त्यस्ता रचना अध्ययन गर्नु सही नै हुन्छ, तर यसको सम्बन्ध मानिस अब्बल वा तुच्छ बन्ने कुरासँग हुंदैन ।
पहिलो कुरा, संस्कृत भाषा सनातन अथवा मानवजाति अस्तित्वमा आएदेखि चलिआएको भाषा हो भनेर जुन भनिन्छ, त्यो सत्य होइन । त्योभन्दा पहिले पनि अन्य भाषा संसारमा र आजको भारतमा प्रचलित थिए । के कुरा चाहिँ सत्य हो भने संस्कृत भाषामा त्यतिबेला त्यस समाजमा विकसित भएका धेरैजसो ज्ञानको सङ्ग्रह हुन पुगेको छ, जसरी अरबी भाषामा अरबमा त्यतिबेला विकसित भएका सबै शाखाका ज्ञान सङ्गृहीत छ ।
संस्कृत भाषा भन्नु र संस्कृत भाषामा विभिन्न विषयबारे लेखिएको छ मन्नु एउटै कुरा होइन । नेपाली भाषामा गुन्द्रुकका बारेमा लेखिनु भनेको गुन्द्रुक वस्तु नै नेपाली भाषा होइन । नेपाली भाषा नजानेको मानिसले पनि गुन्द्रुक बनाउन सक्छ, गुन्द्रुकको स्वाद लिन सक्छ र गुन्द्रुकको विशेषता अर्को कुनै भाषामा व्यक्त गर्न सक्छ । संस्कृत भाषामा भएको असल र खराब ज्ञानको सन्दर्भमा पनि कुरा यही हो ।
भारतका एक जना स्वामी सत्यानन्दले संस्कृत भाषाका सन्दर्भमा भनेको कुरा महत्वपूर्ण छ । उनी भन्छन्,‘बाइबल जान्नका लागि अङ्ग्रेजी भाषा जानिरहनु आवश्यक छैन, किनभने इसाई धर्मका अङ्ग्रेजी भाषाका विद्वान्हरुले हिन्दीलगायत अन्य भाषामा बाइबललाई अनुवाद गरिसकेका छन् ।
त्यसैगरी, संस्कृत भाषामा भएका सकारात्मक र नकारात्मक ज्ञान जान्नका निम्ति संस्कृत भाषा सिकिरहनु आवश्यक छैन । किनभने, ब्राह्मण पण्डितहरूले ती शास्त्रलाई हिन्दीलगायत अन्य भाषामा अनुवाद गरिसकेका छन् । अहिले त संस्कृत भाषामा लेखिएका थुप्रै पुस्तक नेपाली भाषामा समेत अनुवाद भएर आउने प्रक्रिया तीव्र भइसकेको छ । प्राचीन ग्रिसमा टोलमीलगायत गणितज्ञले अङ्ग्रेजी भाषामा गणितका सूत्र पत्ता लगाएका थिएनन् ।
आज संसारभर ती सूत्रलाई अङ्ग्रेजी वा अन्य भाषामा पढाइन्छन् । ती सूत्र पढ्न ग्रिक भाषा सिक्नैपर्ने भन्ने अनिवार्य छैन । संसारका सबै ज्ञानका शाखाका बारेमा कुरा यही नै हो । त्यसैले संस्कृत भाषा नै सिकेर त्यो क्षेत्रमा विशिष्ट ज्ञान हासिल गर्न चाहनेका निम्ति कुरा बेग्लै हो, तर संस्कृत भाषामा भएका सकारात्मक वा नकारात्मक ज्ञानसंग साक्षात्कार हुनलाई वा त्यसबारे जानकार हुनलाई पनि संस्कृत भाषा नै सिक्नुपर्छ भन्ने मान्यता चाहि सही होइन ।
हिन्दु धर्मशास्त्रका सुरुका वर्ण व्यवस्था सम्बन्धी मान्यतामा वर्ण जन्मले होइन, गुणको आधारमा छुट्याइने अवधारणा हो भन्ने उल्लेख छ । एउटै परिवारमा जन्मिएको व्यक्ति कोही ब्राह्मण गुणको हुने, कोही शूद्र गुणको हुने हुन्छन् र तिनलाई त्यही कोटीमा बुझ्नुपर्छ भन्ने त्यस अवधारणाको मुख्य सार हो । यही अवधारणामा टेकेर त्यस्ता तर्कहरु आज पनि कतिपयले गर्दै आएका छन् । व्यवहारमा भने वर्ण व्यवस्था र त्यो विकसित भएर बन्न पुगेको जात व्यवस्थामा यो अवधारणा कतै पनि लागू भएको पाइँदैन ।
कुनै पनि ब्राह्मण कुलमा जन्मिएको व्यक्ति गुणकै कारणले शूद्र बनेको छैन । कुनै शूद्र कुलमा जन्मिएको व्यक्ति गुणकै कारणले वैश्य या क्षेत्री भएको पनि छैन । यो त वंशानुगत रूपमा पेशागत अनुल्लङ्घनीय व्यक्तित्व निर्माणको परिपाटी हो । गीत गाउने गुण भएको मान्छे ब्राह्मण कुलमा जन्मिएको छ भने पनि ऊ कहिल्यै गन्धर्व बन्न सक्दैनथ्यो ।
गन्धर्व बन्नका निम्ति गीत गाउने गुण होइन, ब्राह्मण कुलको रक्तलाई गन्धर्व कुलसँग मिसाउने विद्रोह चाहिन्थ्यो । आज त्यस्तो तर्क गर्ने अधिकांश पुरुष छन्, तीमध्ये पनि ब्राह्मण जातमा हुर्केका पुरुष छन् । ठीक छ, उनीहरू ब्राह्मण जातमा हुर्केको हुनाले र पढलेख पनि गरेको हुनाले धर्मकै नियम अनुसार स्वतः ब्राह्मण नै रहे होलान्, तर ती पुरुषका ‘धर्मपत्नी’हरु, जो अधिकांश शास्त्रले तोकेअनुसार शूद्रले गर्ने सेवाजनक घरेलु काम मात्र गर्छन्, के उनीहरू चाहिँ आजका शूद्र महिला हुन् ? त्यसो त होइनन् । तसर्थ, आज पनि त्यस्तो तर्क गर्नु वितण्डताबाहेक अरू केही होइन ।
(आुहतिको ‘जात वार्ता’बाट । अन्तरवार्तालाई लेखको रुप र शिर्षक हामीले दिएका हौं)