• बैशाख १४ २०८२, आईतवार

तलब बढाउन माग गर्दै जिफोरएसका मजदूर आन्दोलित

पुष २० २०७८, मंगलवार

काठमाडौं, २० पुस । काठमाडौंको बालुवाटारस्थित सेक्युरिटी गार्ड सप्लाई गर्ने बहुराष्ट्रिय कम्पनी जिफोरएसबाट अन्याय भएपछि त्यसमा काम गर्ने मजदुरहरु आन्दोलित भएका छन् ।

उनीहरुले सरकारले जारी गरेको सामाजिक सुरक्षा ऐन लागू हुनुपर्ने, न्युनतम तलब रु १५ हजार लागू गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा जानुअघि उपदान, सञ्चयकोषको रकम फिर्ता गर्नुपर्ने लजागयतका ९ बुँदे मागहरु छन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ जिफोरएसको मुल कमिटीले सो आन्दोलनको नेतृत्व गरिरहेको छ । संघका केन्द्रीय अध्यक्ष लक्ष्मी ढकालले मुल इकाई कमिटीले राखेका मागहरु पूरा नगरे संघर्षलाई अझ चर्काउने र आवश्यक परे केन्द्रले नेतृत्व गरेर भएपनि व्यवस्थापनलाई माग पूरा गराउन बाध्य पारिछाड्ने दृढता व्यक्त गरे ।

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सेक्युरिटी मजदुरका आधारभूत मागहरु समयसापेक्ष र जायज भएकाले पत्रकारहरु पनि मजदुरको पक्षमा दृढतापूर्वक लागिपर्ने बताए । ‘पत्रकार केवल प्रचारकर्ता मात्र हैन, अभियानकर्ता र संगठनकर्ता पनि हो, हामी सँधै श्रमको उचित सम्मान हुनुपर्छ र कानुन मान्न व्यवस्थापनलाई बाध्य पार्नुपर्छ भन्ने मान्यता राख्छौं’ अध्यक्ष जैसीले भने । प्रेस सेन्टरका अध्यक्ष महेश्वर अधिकारीले पत्रकारहरु स्वयं श्रमजीवी भएकाले सेक्युरिटी क्षेत्रका श्रमजीवीको अधिकार रक्षाका लागि निरन्तर कलम चलाउने प्रतिवद्धता जनाए ।

मुल इकाईका अध्यक्ष राजेन्द्र पाठकले पुर्वाग्रही ढंगले श्रमजीवीलाई रोजगारबाट निकाल्ने, अधिकार मागेपछि पूर्वाग्रह सोच राखेर ड्युटी पोष्टबाट परिवर्तन गर्ने, प्रत्येक आर्थिक वर्षको अन्त्यमा कम्पनीको आयव्यय पारदर्शी रुपमा श्रमिकसमक्ष राख्नुपर्ने, श्रम ऐन विपरित भर्ना शुल्क लिन बन्द गरि यसअघिको फिर्ता गर्नुपर्ने लगायतका आफूहरुका ९ बुँदे मूख्य माग पूरा नगरे घोषित संघर्षका चरणवद्ध कार्यक्रमहरु अझ सशक्त रुपमा अघि बढ्ने बताए । संघले चरणवद्ध संघर्षका कार्यक्रम पत्रकार सम्मेलनमार्फत् यसअघि नै सार्वजनिक गरिसकेको छ ।